कला

अलिमियालाई १ लाख राशीको हेमराज पहारी पुरस्कार

काठमाडौं– हेमराज स्मृति प्रतिष्ठानले सञ्चालन गर्दै आएको यस वर्षको हेमराज पहारी स्मृति पुरस्कार लोककवि अली मियाँलाई प्रदान गरिएको छ। पहारीको नवौं स्मृति दिवसको अवसरमा एक लाख राशीको सो पुरस्कार मियाँलाई मरणोपरान्त प्रदान गरिएको हो।

वरिष्ठ लोकगायिका एवं प्रज्ञासभा सदस्य हरिदेवी कोइराला र प्रतिष्ठानका अध्यक्ष रीता न्यौपाने पहारीले लोककवि अली मियाँका ज्येष्ठ सुपुत्र एवं लोककवि अली मियाँ वाङमय प्रतिष्ठानका अध्यक्ष हनीफ मियाँलाई पुरस्कार प्रदान गरे। पुरस्कारको राशी १ लाख रुपैयाँको साथमा ताम्रपत्र रहेको छ। मियाँलाई प्रदान गरिएको पुरस्कार चौथो हो। प्रत्येक २ वर्षमा प्रदान गरिने पुरस्कार यसअघि वरिष्ठ संस्कृतिकर्मी सत्यमोहन जोशी, दाङको राप्ती साहित्य परिषद र धरानको विमल गुरुङ स्मृति पुस्तकालयलाई प्रदान गरिएको थियो। 

साहित्यकार अनिल पौडेल संयोजक र सदस्यद्वय नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ र साहित्यकार सुमन श्रापित रहेकोे प्रतिभा छनोट समितिले अली मियाँलाई पुरस्कृत गर्न सिफारिस गरेको थियो।

कार्यक्रममा प्रज्ञासभा सदस्य कोइरालाले प्रगतिशील विचारधाराका माध्यमबाट देशलाई चिनाउन सफल व्यक्तित्व हेमराज पहारीलाई भएको दावी गरिन्। साहित्यकार एवं प्रतिभा छनोट समिति संयोजक अनिल पौडेलले लोककवि अली मियाँको योगदानको कदर गर्न पुरस्कार प्रदान गरिएको बताए। उनले व्यक्तित्व र कृतित्वका कारण हेमराज र अली मियाँ दुवै अझै जीवित रहेको भन्दै उनले उनीहरू दुवैको योगदानलाई थप उजागर गर्नुपर्नेमा जोड दिए। साहित्यकार लक्ष्मी निरौलाले हेमराज र अली मियाँमा तुलना गर्दा पेशागत बाहेक अन्य केही फरक नभएको बताए। हेमराज पहारीका सहपाठी मदनराज थापाले हेमराज र आफू अन्तरङ्ग मित्र भएको बताए। 

लोककवि अली मियाँ वाङमय प्रतिष्ठानका अध्यक्ष हनीफ मियाँले पोखरा तथा साहित्य जगतले हेमराज र अली मियाँको जति गुनगान गाए पनि कमी हुने बताए। उनले अली मियाँलाई पुरस्कार प्रदान गरेर हेमराज पहारी स्मृति प्रतिष्ठानले आफूलाई चीर ऋणि बनाएको बताए। 

प्रकाशित: २७ फाल्गुन २०७५ ०९:३४ सोमबार

हेमराज_पहारी_स्मृति_पुरस्कार अली_मियाँ लोककवि