कला

‘गाउँमा रंगमञ्च’का अभियन्ता

पूर्वमा एउटा कथन छ, ‘इलामले नहेरेको, झापाले नदेखेको ठाउँ हो चुलाचुली।’ चुलाचुली गाउँपालिका इलाममा भए पनि झापासँग सीमा पर्छ। त्यहाँ अधिकांश मानिस दैनिक चलाउन दमक आउने गर्छन्। त्यो गाउँ धेरै विकट छ। सुगम जिल्लासँग जोडिएको चुलाचुली हरेक हिसाबले पछि परेको छ।  

त्यहाँ शिक्षाको स्तर पनि कमजोर छ। अधिकांश गरिबीको रेखामुनि छन्। तर, पीपलढुंगाको बीचमा नै उर्मन्छ भने जस्तै शिक्षाको कमी भएको ठाउँमा शिक्षा दिन रंगमञ्च खुलेको छ। ‘गाउँमा रंगमञ्च’को नारा लिएर चुलाचुली रंगमञ्चले ज्योति छरिरहेको छ। यस्तो विकट गाउँमा पनि रंगमञ्च ! सबैलाई अनौठो लाग्न सक्छ। ०६९ सालमा गाउँमा केही गनुपर्छ र चेतनाको ज्योति छर्नुपर्छ भन्ने हेतुले चेतन आङ्थुपोले रंगमञ्चको परिकल्पना गरे। नाटकका माध्यमबाट पनि गाउँमा चेतना छर्न सकिन्छ भन्ने प्रमाणित गर्नु थियो उनलाई।

चुलाचुली जस्तो ग्रामीण समाज, त्यहाँ जातीय, वर्गीय, सांस्कृतिक विभेद धेरै छन्। ती विभेद अन्त्य गर्ने खालका नाटक लेख्दै र निर्देशन गर्दै आएका छन् चेतन आङ्थुपो।

आङ्थुपो ०६० सालदेखि नै नाट्यकर्ममा छन्। उनले कक्षा नौमा पढ्दै सडक नाटकमार्फत् कला देखाउँदै आए। जब सडक नाटकमा रस बस्यो तब नाटकमार्फत् पनि समाज परिवर्तन गर्न सकिन्छ जस्तो लाग्यो। गाउँका केही साथीहरूसँग पनि छलफल गरेर एउटा समूह खडा गर्ने निष्कर्षमा पुगे उनीहरू। अनि ०६४ सालमा ‘नयाँ बाटो नयाँ पाइला’ समूह गठन गरे र निरन्तर उनकै निर्देशनमा सडक नाटक प्रदर्शन हुन थाल्यो। कलाकारितामार्फत् पनि समाज परिवर्तन गर्न सकिन्छ भन्ने उदाहरण धेरै छन्। नाटकमा खेल्न धेरै युवाले इच्छा देखाए। त्यसले आङ्थुपोलाई रंगमञ्च नै स्थापना गर्नुपर्छ भन्ने हुटहुटी जाग्यो।

‘मलाई कला धेरै मनपर्ने, सुरुमा त खेलियो मात्र तर पछि बुझ्दै गएपछि रंगमञ्चले पनि समाज रूपान्तरण गर्छ जस्तो लाग्यो,’ आङ्थुपो भन्छन्, ‘नाटकमार्फत् गाउँका जनतालाई विकासमा पनि चेतना दिन सकिन्छ कि ! भनेर कलाकारितामा आउन चाहने युवा भेला गरेर रंगमञ्च सुरुवात गरेका हौँ।’ ०६४ सालमा माओवादीको सशस्त्र आन्दोलन भर्खरै सकिएको थियो। आन्दोलनको प्रमुख एजेण्डा जातिय मुक्ति, वर्गीय विभेदको अन्त्य र समानतामूलक समाज स्थापना थियो। तर, समाजमा जरो गाडेर बसेको छुवाछुत कहाँ त्यति सजिलै अन्त्य हुन्थ्यो र ! त्यही छुवाछुत र विभेद अन्त्यका लागि चेतना आवश्यक ठाने चेतनले।

‘नयाँ बाटो नयाँ पाइला’ समूह र चुलाचुली रंगमञ्चले तयार पारेका हरेकजसो नाटक सीमान्तकृत, दलित र जनजातिका पक्षमा पाइन्छ। चुलाचुली जस्तो ग्रामिण समाज, त्यहाँ जातिय, वर्गीय, सांस्कृतिक विभेद धेरै छन्। ती विभेद अन्त्य गर्ने खालका नाटक लेख्दै र निर्देशन गर्दै आएका छन् आङ्थुपो। अहिले यहाँ विभेद धेरै अन्त्य भएको दाबी उनको छ। यतिले नै परिवर्तन पूरा भइसकेको उनी ठान्दैनन्। ‘मैले पहिलो नाटक परिवर्तन गरेको हुँ। यो पनि विभेदविरुद्ध थियो,’ उनले भने, ‘त्योबेला र अहिलेको समाजमा धेरै परिवर्तन छ। तर, पूर्ण भएको छैन।’

०६५ सालताका गाउँमा रोजगारी थिएन। त्यहीबेलादेखि रोजगारीका लागि विदेशिनेको लर्को लाग्न थाल्यो। आङ्थुपोलाई समाजले त्योबेला आँखाको तारो बनाएको थियो। आफ्ना छोराछोरी नाटक खेलाएर बिगारेको आरोप समेत लागेको थियो। ‘घर परिवारका लागि त म बरालिएरै हिँडेको जस्तो हुन्थ्यो। अझ समाजले पनि यो काम लाग्दैन। हाम्रा छोराछोरीलाई पनि बिगार्ने’भो भन्थे,’ उनले भने, ‘सबैले यसो भनेपछि घरबाट पनि दैनिकजसो किचकिच हुन थाल्यो।’
त्यसबेला केही इलम गरौँ त गाउँमा रोजगारको अवसर थिएन। उनी दोधारमा परे। भर्खरै सुरु गरेको नाट्य समूहलाई पनि माया मारेर पैसा कमाउन विदेश जाने सोच बनाए।

‘मैले पासपोर्ट म्यानपावरमा बुझाएँ। युएईका लागि भिसा पनि आयो,’ उनले सम्झिए, ‘समाज परिवर्तनको जिम्मेवारी मेरै काँधमा छ जस्तो लाग्यो। विदेश जानै मन लागेन। त्यसपछि अब कहिल्यै जान्न भनेर म फर्किँएँ।’ सहरमै रंमञ्चमा काम गर्नेलाई दैनिकी चलाउन निकै धौ–धौ छ। गाउँमा त झनै नाटकमा काम गरेरै पैसा कमाउन अवस्था त छैन। ‘म सधैँ फरक सोच्ने मान्छे। अहिले म बेरोजगार युवाको उदाहरणका रूपमा छु। बेरोजगार भए पनि युवाले समाज रूपान्तरण गर्नसक्छन् भन्ने देखाउनु छ,’ उनले भने, ‘मलाई रंगकर्मले फरक दृष्टिकोण दिएको छ। बरू पैदल हिँड्छु। हिँडेरै मात्र गन्तव्यमा पुगिने हो। म कलाकारितामा सन्तुष्ट छु।’    

समस्यै समस्या
गाउँका युवाले ०६४ सालबाट नाटक खेलेका भए पनि चुलाचुली रंगमञ्च भने ०६९ सालमा मात्रै औपचारिक रूपमा सुरु भएको हो। द्वन्द्वकालमा कर्मचारीले छोडेर गएको एक सामुदायिक भवनलाई रंगमञ्च बनाइएको हो। सामुदायिक भवनमा साँघुरा दुईटा कोठा छन्। त्यहीँ उनीहरू अभ्यास गर्छन्। समस्यै समस्यामा चलेको छ, रंगमञ्च। समस्यालाई छिचोल्दै यो रंगमञ्च कला प्रस्तुत गर्न काठमाडौंसम्म आइपुग्यो। हालै सम्पन्न अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा उसले ‘माङ्गेना’ नाटक प्रदर्शन ग-यो।

गाउँपालिकाको भवनमा औपचारिक रूपमा रंगमञ्चको सिको गर्दै ‘किपोर्ट’ नामक नाटक प्रस्तुत गरेको चुलाचुली रंगमञ्चको यात्रा सुविधासम्पन्न मण्डला थिएटरको स्टेजसम्म आइपुग्यो। यसरी स्टेजमै प्रदर्शन गरेको ‘माङ्गेना’ चौथो नाटक हो। अन्तर्राष्ट्रिय नाट्य महोत्सवसम्म आएर नाटक प्रदर्शन गर्न पाउनु ठूलो अवसर भएको आङ्थुपो बताउँछन्।
चुलाचुली रंगमञ्चलाई समस्यै समस्याले गाँजेको छ। नाटकको भोक मेट्नै चलाइरहेको आङथुपो बताउँछन्। ‘समस्या त धेरै छन्। नाटकका लागि चाहिने केही सामग्री छैन। भवनकै अभाव छ,’ उनले भने, ‘कलाकार नै पाइँदैन। यो क्षेत्रमा पैसा नभएका कारण पाएका कलाकार पनि पलायन हुन्छन्।’

समाज परिवर्तनको महत्वपूर्ण ‘पुल’ नाटक भएकाले सरकारले विशेष चासो देखाउनुपर्ने उनको तर्क छ। ‘नाट्य क्षेत्रले पनि समाज रूपान्तरणमा महत्वपूर्ण योगदान गरेको छ,’ उनले भने, ‘रंगमञ्चमा कलाकार बचाउन पनि यसको जिम्मेवारी सरकारले लिनुपर्छ। नाट्य क्षेत्रमा सरकारको लगानी आवश्यक छ।’

प्रकाशित: २५ फाल्गुन २०७५ ०५:२१ शनिबार

रंगमञ्च चुलाचुली_गाउँपालि विभेद