कला

पेचिला प्रश्नमा गरमागरम बहस

काँकडभिट्टा – राजनीति, मिडिया,  अर्थनीति , समाजशास्त्र तथा कला र साहित्य क्षेत्रका पेचिला प्रश्नहरूमा गरमागरम बहस गर्दै ‘कला साहित्य उत्सव’को चौथो संस्करण सोमबार सकिएको छ। यहाँ आयोजित कार्यक्रममा सहभागीलाई चित्रकला, नाटक र फोटो प्रदर्शनीसमेत स्वादसमेत आयोजकले चखाएका थिए।

नपढ्ने हजुरआमाका नातिनी हामीहरू माइक समाएर बोल्ने भयौं। अहिलेका छोरीहरू झनै विद्रोही बनेर आउँदैछन्। उनीहरूले पुरुष सत्ताले थोपरेका चलन इन्कार गर्ने निश्चित छ।

रिडर्स झापाले हरेक दुई वर्षमा आयोजना गर्ने उत्सवले समकालीन समयका पेचिला प्रश्नहरूमा घोत्लिने र  छलफल गर्ने काम गरेको रिडर्सका अध्यक्ष उज्जवल प्रसाईले बताए। ‘हामी यो सीमान्त सहरबाट आलोचनात्मक चेतको प्रवद्र्धन, पठन संस्कृतिको विकास र संवादका माध्यमबाट विभिन्न प्रश्नको हल चाहन्छौं’, उनले भने, ‘हरेक उत्सवले यसमा सघाएकै छन्। यसपटक धेरै पेचिला प्रश्नहरू उठे। छलफल र संवाद भए। यसले निश्चय नै हामीलाई उत्साही बनाएको छ।’

उत्सवको अन्तिम दिन ‘समृद्धि यात्राको संकट’ विषयमा खगेन्द्र प्रसाई र विश्व पौडेलले विनोद तिम्सिनासँग बहस गरेका थिए। समृद्धि निरपेक्ष नहुने बताउँदै माक्र्सवादी विश्लेषक प्रसाईले कसको समृद्धि भन्ने प्रश्न महत्वपूर्ण हुने बताए। ‘विद्यमान अवस्था पनि थोरैका लागि समृद्धिकै क्षण भइरहेको छ’, उनले भने ‘उनीहरूसँग भएभरका स्रोत छन्। त्यसैले बहुसंख्यक निम्न वर्गीय जनताले खोजिरहेको जस्तो समृद्धिको वकालत जरुरी छ।’ अर्थशास्त्री पौडेलले  मानवीय सुरक्षा, आर्थिक वृद्धिदरको सूचकहरूको जोडबाट समृद्धि सम्भव हुने दाबी गरे।

‘समाचार, झुटा समाचार र खरिद समाचार’का विषयमा शिव गाउँले, सुबिना श्रेष्ठ र संगीत स्रोताले नारायण कडरियासँग बहस गर्ने क्रममा समाचारको दुरुपयोगदेखि समाचार कक्षको असमानतासम्मको गरे। उनीहरूका अनुसार नेपालमा ‘फेक न्यूज’को जोखिम बढिरहेको छ। ‘अहिलेसम्म संगठित रूपमा नेपालमा फेक र पेड न्यूजको अभ्यास भएको देखिन्नँ’, खोज पत्रकारिता केन्द्रका सम्पादक गाउँलेले भने ‘तर, त्यसका लागि हाम्रोमा मैदान तयार भएको विभिन्न घटनाले देखाएका छन्। मैदान तयार भएपछि खेल खेलिनसक्छ। यसमा सजग बन्नुपर्छ।’ नेपाली पत्रकारिताले प्रश्न गर्ने क्षमता बढाउनुपर्ने उनको भनाइ थियो। ‘हामीले खँदिला र बलिया प्रश्नहरूको खोजी नगरेसम्म नेपालमा रेल र पानीजहाजका कुराले समाजलाई आकर्षित गरिरहनेछ’, गाउँलेले भने।

दुई वर्ष अघि झापाकै उत्सवमा आफूलाई मन परेकी युवतीको प्रेमका कारण राजनीतिमा लागेको अभिव्यक्ति दिएका चिन्तक प्रदिप गिरिले यसपटक ‘प्रेम र यौनः पहेँली अनेक’ विषयमा प्रवचन दिए। उनका अनुसार प्रेम स्वतन्त्रताको अनुभव हो भने यौन आवश्यकतामा आधारित हुन्छ। ‘यौन आवश्यकताबाट प्रेम अर्थात स्वतन्त्रतामा पुग्नुपर्छ’, गिरिले भने।

सञ्जीव उप्रेती, भाष्कर गौतम, अमिना सिंह र सुप्रिया मानन्धरले ‘समाज विज्ञान र मानविकीको संकट’ का विषयमा बहस गरे। ‘सत्ता र अभिव्यक्ति स्वतन्त्रता’का बारेमा सिके लाल र खगेन्द्र संग्रौलाले विचार राख्दै वर्तमान सत्ता प्रश्नहरूबाट डराइरहेको आरोप लगाए। ‘पुरुषको मुक्ति कसरी’ भन्ने विषयमा प्रणिका कोयू, आहुति, सीमा आभास र भावना ओलीले बहस गरे। लेखक सीमा आभाषले पुरुषको सत्ता महिलाले हल्लाइदिएको दाबी गर्दै आफूलाई सुरक्षित राख्न पुरुषले अब भातभान्सा सम्हाल्नेदेखि महिलाको भागमा थोपर्दै आएका आफ्ना काम आफैं गर्न अग्रसर हुनुपर्ने तर्क गरिन्। ‘नपढ्ने हजुरआमाका नातिनी हामीहरू माइक समाएर बोल्ने भयौं’, उनले भनिन् ‘अहिलेका छोरीहरू झनै विद्रोही बनेर आउँदैछन्। उनीहरूले पुरुष सत्ताले थोपरेका चलन इन्कार गर्ने निश्चित छ।’ लेखक आहुतिले पुरुष सत्तालाई पुँजीवादले झन् बलियो बनाउँदै लगेको तर्क गरे।

प्रकाशित: २१ फाल्गुन २०७५ ०२:२० मंगलबार

साहित्य_उत्सव पेचिला_प्रश्न गरमागरम_बहस