कला

नाटकसँगै फोटो प्रदर्शनी

महोत्सवमा राखिएका तस्बिर नियाल्दै विदेशी दर्शक। तस्बिरः नागरिक

काठमाडौं – राजधानीमा सोमबारबाट जारी ‘दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०१९’मा बुधबार चार स्थानमा चार नाटक मञ्चन भए। महोत्सवको तेस्रो दिन अनामनगरको मण्डला थिएटरमा भारतीय नाटक ‘दी जब’, कौशी थिएटरमा नेपाली नाटक ‘च्याप्टर कन्फेसनः माइ फादर इज ए मर्डरर’, शिल्पी थिएटर बत्तिसपुतलीमा भारतीय नाटक ‘चम्पावती’ र थिएटर मल कीर्तिपुरमा डेनमार्कको नाटक ‘टु बी’ मञ्चन गरिएको थियो।

भारतको फाइभ सेन्स थिएटर ग्रुपले निर्माण गरेको नाटक ‘दी जब’ले नोकरी गर्न चाहने चार युवाले एकअर्कालाई बाहिर निकाल्ने प्रयास गर्दा आउने द्वन्द्वलाई देखाएको छ। हार्दिक शाह निर्देशित नाटकले कामलाई एक असामान्य रचनात्मक प्रदर्शनका रूपमा लिँदै वर्तमान समयको प्रतिष्पर्धात्मक संस्कृतिलाई व्यंग्य गरेको थियो।

त्यस्तै पत्रिका घिमिरेद्वारा निर्देशित नाटक ‘च्याप्टर कन्फेसनः माइ फादर इज ए मर्डरर’मा प्रमुख महिला पात्रले विगतलाई सम्झिएर वर्तमानमा उठ्न चाहेको विषयलाई देखाइएको थियो। नाटकमा प्रहरीमा नयाँ आइजीपी भएका ती महिला पात्रले विगतमा आफ्नो पिता र दुई जुडुवा दाजुसँग राखेको सम्बन्धलाई प्रस्तुत गरिएको थियो।

त्यस्तै विप्लव डे निर्देशित नाटक ‘चम्पावती’ले एक सपेरा महिलाको कथालाई प्रस्तुत गरेको थियो। नाटक अनुसार उनको शरीर खराब सोच भएका पुरुषको इच्छाबाट चलेको हुन्छ। उनी समाजलाई ‘तिमीहरू किन मलाई अमानवीय व्यवहार गर्छौ ?’भनेर प्रश्न गर्छिन्। 

ज्याक्युस एस. मेथीसेनले निर्देशन गरेको नाटक ‘टु बी’ले ६ वर्षे पात्रले सांकेतिक रूपमा मानव अधिकारका धारणा राखेको कुरा देखाएको थियो। ज्याकुस नामक पात्रले मानव जीवनमा मानव अधिकारको महत्वलाई चित्रण गरेका थिए। साना अक्षर र साना संकेतमार्फत उनले दर्शकलाई नाटकको कथा प्रस्तुत गरेका थिए।

अनामनगरस्थित मण्डला थिएटरमा नाटकसँग सम्बन्धित तस्बिरहरूको पनि प्रदर्शन गरिएको छ। फोटो पत्रकार नविन गुरुङले विभिन्न समयमा खिचेका थिएटर तस्बिरहरू प्रदर्शनीमा राखिएका छन्। प्रदर्शनीमा हालसम्म काठमाडौंमा भएका नाटक र थिएटरका कलाकारहरूको तस्बिर समेटिएका छन्। जसमा सुनिल पोखरेलदेखि दयाहाङ राई, सिर्जना सुब्बा, नाजिर हुसेन, विजय बराललगायतका सय बढी तस्बिर राखिएका छन्। ‘यहाँ प्रदर्शनीमा राखिएका तस्बिरहरू सबै नाटकसँग सम्बन्धित छन्। त्यसैले नाट्य महोत्सवकै अवसरमा प्रदर्शनीमा राखेको हुँ’, नविनले भने। महोत्सव आगामी फागुन २० गतेसम्म चल्नेछ।

प्रकाशित: १६ फाल्गुन २०७५ ०६:४१ बिहीबार

नेपाल_अन्तर्राष्ट्रिय_नाटक_महोत्सव नाटक फोटो_प्रदर्शनी