कला

विकृतिमाथि ‘जोखाना’

काठमाडौं – ‘साकेला’ पूर्वी नेपालका किराँत राई जातिको महत्वपूर्ण चाड हो। यो चाडमा उनीहरू साकेला सिली नाच्छन्। ‘सोइ ढोले सोइ’ को तालमा कम्मर मर्काउँछन्। यो माहौलमा उभौली पुजाको दिन गाउँमा सबै उत्साहित छन्। सबै साकेला नाच्ने तयारीमा छन्। धनसुवाको छोरा निचाहाङ पनि साकेला नाच्न जाने तयारीमा छ। तर, धनसुवासँग साकेला नाच्ने पटक्कै उत्साह छैन्। 
१७ वर्षअघिको घटना सम्झिएर धनसुवा घरिघरि भक्कानिन्छिन्। १७ वर्षअघि साकेलाकै दिन साकेला नाच्न गएका पति जसबहादुर राई (जसे) घर नफर्किएपछि साकेलामा धनसुवाको चासो छैन्। जसे किन घर फर्किएनन्। त्यसबारे पनि धनसुवा बेखबर छिन्। यो दृश्य नाटक ‘जोखाना’को हो।  

नाटकको एक दृश्यले तत्कालीन द्वन्द्वको सानो हिस्सा देखाएको छ। तर, त्यही कारण जसबहादुर बेपत्ता भएका हुन् भन्ने ठोकुवा गर्न दर्शकलाई गाह पर्छ।  नाटकले तत्कालीन नेकपा माओवादीको १० वर्षे जनयुद्धको प्रभाव र सामाजिक ‘कु’ संस्कारलाई बोकेको छ। धनसुवाको परिवार वरिपरि नाटक घुमेको छ। साकेला नाच्दा–नाच्दै एक्कासी बम पड्किएको दृश्य देखिन्छ। तर त्यो दृश्यलाई सहजै नियाल्न सकिँदैन। त्यही द्वन्द्वमा जसे हराएको अनुमान दर्शकले सहजै गर्न सक्छन्। 
बाबु हराउँदा छोरा निछा दुई वर्षको मात्र हुन्छ। उसबेलाको सानो निछा अहिले एसएलसी दिएर बसेको छ। धनसुवा छोरामा बाबुको रूप देख्न थालेकी छन्। निछालाई भर्तीमा जाने र लाहुरे हुने ठूलो इच्छा छ। तर धनसुवालाई भने छोरा निछा पनि बुबाजस्तै नफर्कने हो कि भन्ने चिन्ता छ। छोरालाई लाहुर नपठाउने चाहना हुँदाहुँदै पनि निछा लाहुर गएरै छाड्छ। 

नाटकले बिजुवा (झाँक्री) र जोखानाले समाजमा पारेको प्रभाव र कुरीतिको भण्डाफोर गर्ने प्रयास गरेको छ। जोखानामा विश्वास गर्दाको परिणाम के हुन्छ भन्ने प्रष्ट चित्र नाटकले देखाएको छ।

१७ वर्षसम्म जसे गाउँ नफर्किएपछि गाउँलेले उनको मृत्यु भइसकेको अनुमान गर्छन्। तर धनसुवामा भने श्रीमान फर्कने झिनो आशा बाँकी रहन्छ। उनी सधैं नराम्रो सपना देख्छिन्। कतै श्रीमानलाई अप्ठ्यारो त परेको छैन ?’, उनको मनमा यो प्रश्न जागिरहन्छ। त्यहीकारण उनले श्रीमानको अवस्था बुझ्न जोखाना हेराउने निर्णय लिन्छिन्। नाटकले बिजुवा (झाँक्री) र जोखानाले समाजमा पारेको प्रभाव र कुरीतिको  भण्डाफोर गर्ने प्रयास गरेको छ। जोखानामा विश्वास गर्दाको परिणाम के हुन्छ भन्ने प्रष्ट चित्र यो नाटकले देखाएको छ। छोरा निछा लाहुरमा भर्ती हुन जाने बेलाको दृश्यले सबैको आँखा रसाउँछ। त्यसबेला आमा धनसुवाले छोरालाई भनेका शब्दले नाटक हेर्न उपस्थितलाई भावुक बनाउँछ।

एक घण्टा २० मिनेटको यो नाटक हेरिरहँदा दर्शकले दिक्क मान्नु पर्दैन। नाटकले दर्शकलाई कहिले मजाले हसाउँछ त कहिले भावुक बनाउँछ। कलाकारको अभिनय पनि तारिफयोग्य छ। झाँक्रीको भूमिकामा रहेका अनिल सुब्बाको अभिनय उत्कृष्ट छ। उनले आफ्नो अभिनयबाट गाउँमा हुने वास्तविकता देखाएका छन्। नाटकमा झाँक्री (सेलेमी) पात्रले सिंगो राई जातिको संस्कृतिको प्रतिनिधित्व गरेको छ। धनसुवा पात्रमा रहेकी संगीता थापाको अभिनय प्रशंसनीय छ। 

नाटकमा प्रयोग गरिएका भाषा शैली मिठासपूर्ण छ। ठाउँठाउँमा प्रयोग हुने राष्ट्र भाषाका कारण नाटक थप दमदार लाग्छ। फिल्मजस्तै नाटकमा त्रुटी पनि हुन्छ। तर ‘जोखाना’मा भने खोट लगाउने ठाउँ भेट्न मुस्किल पर्छ। यति भन्दाभन्दै पनि केही कमजोरी नभएको भने होइन। केही दृश्य प्रस्तुत गर्दा ध्यान नदिएको जस्तो देखिन्छ। नाटकको अन्तिममा अनावश्यक रूपमा दृश्य लम्ब्याइएको प्रस्ट देखिन्छ।

बियस राईको कथा संग्रह ‘हिउँमाझी’मा संग्रहित कथा ‘जोखाना’लाई राजन मुकारुङले नाट्य रूपान्तरण गरेका हुन्। किरण चाम्लिङ राईले निर्देशन गरेको नाटकमा संगीता थापा, रूपेश लामा, सञ्जिव राई, मानाहाङ लावती, अनिल सुब्बा, पार्वती राई, निश्चल पाख्रिन, कवि राई, सुदर्शन क्षेत्री, दिवान रसाइली र मनिकुमार राईले अभिनय गरेका छन्। सोमबारबाट सुरु भएको ‘अन्तर्रााष्ट्रिय नाट्य महोत्सव’मा समेत यो नाटक मञ्चन हुँदैछ।  मण्डला थिएटरले आगामी चैतमा यो नाटक पुनः प्रदर्शन गर्ने जनाएको छ।

प्रकाशित: १४ फाल्गुन २०७५ ०४:०७ मंगलबार

साकेला विकृति पूर्वी_नेपाल किराँत_राई