कला

संसदमा सत्ता र प्रतिपक्षीको जुहारीपछि प्रमोद खरेलले भनेः गीतमाथि राजनीति बन्द गर्नुस्

काठमाडौं– गायक प्रमोद खरेलले पशुपति शर्माको गीतमाथि राजनीति नगर्न आग्रह गरेका छन्। सोमवारको संसद बैठकमा शर्माको ‘लुट्न सके लुट कान्छा, लुट्न सके लुट, अरु देशमा पाइँदैन नेपालमै हो छुट’ बोलको गीतलाई लिएर प्रतिपक्षी र सत्ता पक्षीय सांसदबीच जुहारी चलेपछि खरेलले गीतमा अल्झिनुभन्दा जनताका लागि काम गर्न सुझाव दिए। 

सोमवारको बैठकमा कांग्रेस सांसद अमरेश कुमार सिंहले गीत हटाउन लगाएर सरकारले वाक स्वतन्त्रताको हनन गरेको भन्दै गायक शर्मालाई सहयोग स्वरुप २५ हजार रुपैयाँ दिने घोषणा गरेका थिए। त्यसलगत्तै सत्तारुढ सांसद झपट रावलले शर्माको गीत गाइदिए अमरेशलाई नै आफ्नो एक महिनाको तलब दिने भन्दै व्यंग्य गरेका थिए।

संसद सत्ता र प्रतिपक्षीबीच यसरी जुहारी चलेपछि गायक खरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत ‪त्यो पैसा आफ्नो क्षेत्रको विकासमा थप्न सुझाव दिएका हुन्। उनले भनेका छन्, ‘जनताका लागि काम गर्नुस ताकी फेरि फेरि यस्ता गीत बन्न नपरोस। ‪कर्म गर्नुस, गीतमाथि राजनीति नगर्नुस।’

 

प्रकाशित: ६ फाल्गुन २०७५ १०:३५ सोमबार

प्रमोद_खरेल गीत राजनीति पशुपति_शर्मा