कला

खजुरामा ‘अमृत’ अनमोल

दर्शकसँगै स्टेजबाट सेल्फी लिँदै नायक अनमोल केसी। तस्बिर : जी. थापा

नेपालगन्ज - जानकी गाउँका गोपाल बर्मा नेपाली फिल्म नियमित हेर्दैनन्। त्यसमा पनि अहिलेका स्टार नायक अनमोल केसीको फिल्मसमेत हेर्न पाएका छैनन्। तर उनले अनमोलको नाम भने धेरै सुनेका छन्। अनमोल उनलाई त्यत्तिकै राम्रो पनि लाग्छ। अनमोललाई भेट्न चाहेको तर समय र मौका नमिलेकाले अब प्रदर्शनमा आउन लागेको अनमोल अभिनित ‘क्याप्टेन’ जसरी पनि हेर्ने उनको योजना छ। 

खजुरा महोत्सवमा अनमोल आउने हल्ला सुनेपछि उनी आइतबार दिउँसो २ बजे महोत्सवस्थल पुगे। आयोजकले ‘अबको केही समयमै स्टार नायक अनमोल आउने’ उद्घोष गर्दा उनी बाटोतिर आँखा डुलाउँथे। तर अनमोल आएनन्। पटकपटकको उद्घोषले आत्तिएका गोपाल महोत्सवस्थलको नजिकै थिए। जब साँझ ४ः५० बज्यो। तब उच्च सुरक्षाका साथ महोत्सवमा झुल्केका अनमोललाई देख्दा गोपालले एउटा सपना साकार भएजस्तो महसुस गरे। उनको अनुहारले पनि त्यो भाव प्रष्ट देखाउँथ्यो।

‘रहर छ सँगै’ बोलको गीतमा उनले करिब ३५ सेकेण्ड जति नाँच देखाए। उनीसँगै खजुरा झुम्यो।

‘अनमोललाई देख्ने इच्छा थियो,’ उनले भने, ‘आज बल्ल देख्न पाइयो।’ उनले अनमोललाई नजिकैबाट देखेकामा खुशी व्यक्त गरे। गोपालजस्तै महोत्सवस्थल पुगेका हजारौंका प्रतिक्षा ‘अमृत’ का घडी थिए। महोत्सवस्थलमा कार लिएर आएका अनमोल महोत्सवस्थल प्रवेश गरेको ५ मिनेटपछि कारबाट निस्किए। उनलाई उनका साथीले माथि उठाउँदा कसैका खल्तीमा मोबाइल थिएन। मोबाइल हातहातमा राखेर कसैले भिडियो कैद गरे भने कसैले फोटो खिचे। महोत्सवको स्टेजमा जाँदा गायिका भुमिका शाहीले गीत गाउँदै थिइन्। तर दर्शकको आँखा अनमोल आउने बाटोतिरै थियो। अनमोल स्टेजमा उक्लिएर ‘नमस्ते नेपालगन्ज’ भनी सम्बोधन गर्दा गडगडाहट ताली बज्यो। ‘रहर छ सँगै’ बोलको गीतमा उनले करिब ३५ सेकेण्ड जति नाँच देखाए। उनीसँगै खजुरा झुम्यो। उनको तालमा ताल मिलाएर सबै दर्शक झुमे। फिल्म ‘कृ’को गीत ‘यतियति पानी गग्गे रानी’ गीतमा पनि खजुराबासी अनमोलसँगै नाँचे। उनले नृत्य गर्दागर्दै स्टेजबाटै दर्शकसँग सेल्फीसमेत खिचे।

नाँचिसकेपछि अनमोलले आफ्नो फिल्म ‘क्याप्टेन’को प्रचार गरे। उनले फिल्मबारे दर्शकसँग सवालजवाफ नै गरे। ‘क्याप्टेन फिल्म कहिले आउँछ ?’ अनमोलले यो प्रश्न सोधिरहँदा दर्शकले ‘फागुन १७’ जवाफ दिए। फेरि अनमोलले ‘फागुन १७ गते कुन फिल्म प्रदर्शन हुन्छ ?’ भनी सोध्दा दर्शकले ‘क्याप्टेन’ उत्तर दिए। १० मिनेटजति स्टेजमा देखिएका अनमोलले ‘क्याप्टेन’को राम्रो प्रचार गरे। उनले फिल्मका केही संवाद पनि बोले। उनले आफु पुनः नेपालगन्ज आउने बताए। ‘म नेपालगन्ज आउँछु,’ उनले भने, ‘सँगै बसेर फिल्म हेर्नुपर्छ।’

महोत्सवमा आएकी संगीता यादवले अनमोललाई हेर्ने ठूलो रहर पुरा भएको बताइन्। ‘थोरै समय भए पनि नजिकबाट हेर्न पाएँ’, उनले भनिन्। नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको आयोजना र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय राष्ट्रपति महिला उत्थान कार्यक्रमको आयोजना र आधुनिक युवा सञ्जाल वन वे फिल्मस्को सहकार्यमा ‘प्रथम प्रादेशिक औद्योगिक लघु घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सव–२०७५’ खजुरामा आएका उनलाई दर्शकले अमृतजस्तै माने। घण्टौंको धैर्यता मेटाए। माघ २४ गतेदेखि सुरु भएको महोत्सव फागुन ५ गतेसम्म सञ्चालन हुनेछ। महोत्सवमा अनमोलका बुवा नायक भुवन केसी, नायिका निरुता सिंहलगायतका कलाकारहरूको पनि प्रस्तुति हुनेछ।

प्रकाशित: २८ माघ २०७५ ०५:१० सोमबार

जानकी_गाउँ खजुरा अनमोल