कला

बर्लिन फेस्टिभलमा ‘दी रेड फल्स्’

काठमाडौं – नेपालको संयुक्त प्रोडक्सनमा निर्माण भएको फिल्म ‘दी रेड फल्स्’ले बर्लिनमा हुन लागेको ६९ औं संस्करणको ‘बर्लिन फिल्म फेस्टिभल’मा प्रतिस्पर्धा गर्ने भएको छ। नेपाल, भुटान र जर्मनीको संयुक्त प्रोडक्सनमा निर्माण भएको फिल्म फेस्टिभलमा ‘जेनेरेसन फोटिन प्लस’ विधामा प्रतिस्पर्धा गर्न लागेको हो। फिल्ममा भुटानी निर्देशक तासी ग्याल्सेनको निर्देशन छ। 

फिल्मका निर्माता आइसफल प्रोडक्सनका रामकृष्ण पोखरेलका अनुसार ‘दी रेड फल्स्’ नेपाली भाषाको र नेपालमा नखिचिएको भए पनि संयुक्त प्रोडक्सनको लागि महत्वपूर्ण छ। ‘हामीले अन्तर्राष्ट्रिय फिल्म बजारमा नेपाली प्रोडक्सन कम्पनीको कामलाई स्थापित गर्न विदेशी फिल्ममेकरहरूसँग नयाँ शैलीका साथ काम गरिरहेका थियौं। त्यसैले यो फिल्म हाम्रो लागि महत्वपूर्ण छ’,उनले भने। 

फिल्ममा एक युवतीले आफ्नो स्वतन्त्रताको लागि गरेको संघर्षलाई देखाइएको छ। भुटानी भाषामा निर्माण भएको फिल्ममा तेन्जिङ युडन र दोर्जे ग्याल्सेनलगायतले अभिनय गरेका छन्। यो फिल्मले सन् २०१६ को ‘लोकार्नो फिल्म फेस्टिभल’मा ‘ओपन डोर ग्रान्ड’ जितेको थियो। ‘बर्लिन फेस्टिभल’मा ६२ फिल्महरू प्रदर्शन हुनेछन्। बिहीबारदेखि सुरु भएको महोत्सव १० दिन चल्नेछ। ‘यसपटक बर्लिन फिल्म फेस्टिभलमा संसारभरका ३७ वटा प्रोडक्सन कम्पनीका सामाजिक र युवाहरूलाई प्रोत्साहन गर्ने फिल्महरू प्रदर्शन भइरहेका छन्’, फेस्टिभलका निर्देशक डाइटर कस्लिकले भने। 

 

प्रकाशित: २७ माघ २०७५ ०५:०२ आइतबार

बर्लिन_फेस्टिभल दी_रेड_फल्स्