कला

अलिमियाँलाई ‘हेमराज पुरस्कार’

काठमाडौं – हेमराज पहारी स्मृति प्रतिष्ठानले लोककवि अलिमियाँलाई मरणोपरान्त ‘हेमराज पहारी स्मृति पुरस्कार’ प्रदान गर्ने भएको छ।  साहित्यकार, समाजसेवी हेमराज पहारीको योगदान र कृतिहरूको संरक्षण र प्रवद्र्धन गर्दै आएको प्रतिष्ठानले हरेक २ वर्षमा प्रदान गर्ने ‘हेमराज पहारी स्मृति पुरस्कार’ यसपटक नेपाली लोक वाङ्मयका धरोहर लोककवि अलिमियाँलाई एक लाख रुपैंयाँ र ताम्रपत्रसहित प्रदान गर्ने निर्णय गरेको हो। 

कवि अनिल पौडेलको संयोजकत्वमा गठित पुरस्कार प्रतिभा छनोट समितिले अलिमियाँलाई पुरस्कार दिने निर्णय गरेको हो। समितिमा नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ र साहित्यकार सुमन श्रापित सदस्य छन्। 

लोककविलाई साहित्यकार पहारीको नवौं स्मृति दिवसका अववसरमा आगामी फागुन १७ गते आयोजना हुने कार्यक्रममा पुरस्कार दिइने प्रतिस्ठानकी अध्यक्ष रिता पहारीले बताइन्। यसअघि यो पुरस्कारबाट संस्कृतिविद् सत्यमोहन जोशी, राप्ती साहित्य परिषद दाङ र स्वर्गीय विमल गुरुङ स्मृति पुस्तकालय धरान पुरस्कृत भइसकेका छन्। कार्यक्रममै साहित्यकार पहारीको गीत सञ्चयन ‘हेमराज पहारीका गीतहरू’ पनि लोकार्पण गरिनेछ। गीत सञ्चयन हेमराज पहारी स्मृति प्रतिष्ठानले प्रकाशन गरेको हो। पहारीका यसअघि ‘देशको अभिभारा’ कविता सञ्चयन र ‘उत्तरी गोलाद्र्धको एक फन्को’ नियात्रा प्रकाशित छन्। 

लोककवि अलि मियाँको जन्म वि.सं. १९७५ फाल्गुन १५ गते हाल पोखरा १३ को मियाँपाटनमा भएको थियो। उनका गीत हरिदेवी कोइराला, प्रेमराजा महत, पद्यराज ढकाल, ठाकुरप्रसाद सिग्देल, दुर्गा रायमाझी, पुरुषोत्तम रायमाझीलगायतले गाइसकेका छन्।

 

प्रकाशित: २७ माघ २०७५ ०५:०० आइतबार

हेमराज_पहारी_स्मृति_प्रतिष्ठान हेमराज_पहारी_स्मृति_पुरस्कार