कला

‘समाज सुधारमा सय कडा दश सहयोगी’

फिल्म ‘सय कडा दश’ हेरेपछि प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल। तस्बिरः अशोकसुजन/नागरिक

मकवानपुर - प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले बिहीबार साँझ हेटौंडाको एनएस सिनेमा हलमा फिल्म ‘सय कडा दश’ हेरेका छन्। सरकारी अधिकारी र श्रीमति विजयासहित फिल्म हेर्न पुगेका पौडेलले फिल्म हेरिसकेपछि युवाहरूले हेर्नैपर्ने फ्लेभरको फिल्म बनेको बताए। उनले फिल्मले नेपालमा व्याप्त भ्रष्टाचारको विषय उठान गरेकाले युवाका लागि फिल्मले भ्रष्टाचारविरुद्ध अघि बढ्न प्रोत्साहन गर्ने जनाए।

‘यस्तो खालको फिल्म जीवनमा पहिलो पटक हेरेको हुँ’, पछिल्लोपटक फिल्म ‘छक्का पन्जा ३’ हेरेका उनले भने, ‘यसले केही न केही सन्देश दिन खोजेको छ। नेपाल सरकारसँगै प्रदेश सरकार भ्रष्टाचार न्यूनिकरणमा एकजुट भएको छ। फिल्मले समाज सुधार अभियानमा सहयोग गरेकोमा निर्माण टोलीलाई धन्यवाद दिन चाहन्छु।’ प्रदेश सांसद मुनु सिग्देलले मुलुकको परिवर्तन र भ्रष्टाचार शुन्य बनाउन लागि फिल्म कोशेढुंगा हुने बताईन्। ‘फिल्म सान्दर्भिक छ। युवापुस्ताका लागि पनि मनपर्ने कथावस्तु छ’, उनले भनिन्, ‘प्रत्येकको जीवनमा सय कडा दश फिल्मको सन्देश लागु भएमा धेरै परिवर्तन हुनेछ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त वासुदेव लामिछानेले फिल्मले कर्मचारीहरूमा व्याप्त भ्रष्टाचारको चित्रण गरेको बताए। नेता, सामाजिक कार्यकर्तालगायत सम्पूर्णमा भ्रष्टाचार फैलने बताउँदै उनले भ्रष्टाचारलाई फिल्ममा प्रतिकात्मक र मार्मिक रूपमा देखाइएकोले राम्रो लागेको बताए। आयोगकी हेटौंडा प्रमुख होमकला पाण्डेले फिल्मले भ्रष्टाचारको बहुआयामिक रूप आर्थिक, सामाजिक, राजनीतिक स्वरुपलाई प्रष्ट्याउन खोजेको भन्दै सचेत युवाले परिवारसँगै समाज स्वच्छ निर्माणमा सघाउ पु-याउने सन्देश दिएको बताईन्।

फिल्म सान्दर्भिक छ। युवापुस्ताका लागि पनि मनपर्ने कथावस्तु छ। प्रत्येकको जीवनमा सय कडा दश फिल्मको सन्देश लागु भएमा धेरै परिवर्तन हुनेछ।’ नेपाल पत्रकार महासंघ प्रदेशका अध्यक्ष प्रताप विष्टले नेपालमा व्याप्त भ्रष्टाचारको विषयलाई सशक्त ढंगले उठान गरेको बताउँदै फिल्मले भ्रष्टाचारीलाई हिनताबोध गराउने दाबी गरे। फिल्मका कलाकार मनोज गजुरेलले सामाजिक रूपान्तरण, भ्रष्टाचारविरोधी विषयबस्तु भएकाले फिल्ममा अभिनय गरेको बताउँदै यस्तै सन्देशमूलक फिल्म पाए अभिनय गर्न उत्प्रेरित गरेको जनाए।

फिल्मका अर्का कलाकार उत्सव न्यौपानेले दर्शक र उच्च पदस्थ व्यक्तित्वहरूको साथ फिल्मले पाएकाले आफुलाई भाग्यमानी ठान्दै ‘सय कडा दश’ फिल्म मात्र नभएर परिवर्तनमूलक अभियान भएको बताए। फिल्मका निर्देशक रामशरण पाठकले काठमाडौंसँगै बिर्तामोड, हेटौंडालगायतका स्थानमा नेता, कर्मचारी, विद्यार्थी, उद्योगी, सामाजिक अभियान्ताहरूले हल बुक गरेर फिल्म हेरेको भन्दै दोस्रो हप्तामा थप दर्शक र चर्चा पाउनेमा ढुक्क रहेको बताए। निर्मात्री रज्जु प्रधानले समाज र राष्ट्रका लागि फिल्म निर्माण बनाएको दाबी गर्दै नेतादेखि हरेक वर्गमा फिल्मले प्रभाव पारेको बताइन्।

यसअघि संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितले फिल्मलाई ‘राष्ट्रिय चलचित्र’ तोकिनु आवश्यक रहेको बताएका थिए। उनीसँगै मुख्य सचिव लोकदर्शन रेग्मी, अख्तियारका पूर्व प्रमुख सूर्यनाथ उपाध्यायसहित सरकारका उच्च पदस्थ कर्मचारीले फिल्म हेरेका थिए। अघिल्लो शुक्रबार अर्थात माघ १८ गतेबाट रिलिज भएको फिल्ममा समावेश ‘दाईलाई कुरा लाईदिनी’ बोलको गीत चर्चामा छ। फिल्ममा मनोज गजुरेल, राजाराम पौड्याल, अमृत ढुंगाना, करुणा श्रेष्ठ, उत्सव न्यौपाने, सोनिया राई, अमित पोखरेललगायतको अभिनय छ। दर्शन नेपाल क्रिएसनको ब्यानरमा निर्माण भएको फिल्ममा रज्जु प्रधान र उत्तम खत्रीको लगानी छ।

प्रकाशित: २७ माघ २०७५ ०४:३६ आइतबार

मुख्यमन्त्री डोरमणि_पौडेल सय_कडा_दश