कला

बाल नाटकमा कुप्रथाका कथाहरू

काठमाडौं - शैली थिएटरको आयोजनामा राजधानीमा जारी ‘दशौं राष्ट्रिय बाल नाटक महोत्सव’को सातौं दिन सोमबार ब्राइट जोन इन्टरनेसनल स्कूलको नाटक ‘एउटा सपनाको अन्त्य’ मञ्चन भयो। नाटकले एक पात्रको सपनालाई प्रस्तुत गरेको छ।

नाटकका मुख्य पात्र भाष्कर (विजयबहादुर राई) आफ्नो साथीलाई न्यूरो सर्जरी डाक्टर बन्ने सपना सुनाउँछन्। उनका अभिभावक भने उनलाई कम्प्युटर इन्जिनियर बन्न दबाब दिन्छन्। बुबाआमाको दबाबका कारण उनी इन्जिनियरिङमा भर्ना हुन्छन्। परीक्षामा कम अंक आएपछि उनी दुःख हुन्छन्। यही दुःखलाई बिर्साउन बिस्तारै कुलतको लतमा पर्छन् र आफु तथा अभिभावकले देखेको सपनाको अन्त्य गर्छन्। नाटकले छोराछोरीको इच्छालाई बाबुआमाले साथ नदिदा सिर्जना भएको दुःखद् परिस्थितिको बयान गरेको छ। नाटकलाई दीपक ढुंगेलले निर्देशन गरेका हुन्।

रसियन कल्चर सेन्टरमा भएको महोत्सवमा सोमबार ‘एउटा सपनाको अन्त्य’, ‘बलेको सपना’, ‘मेनुका’ र ‘परिवर्तित मन’ नाटक मञ्चन भए। शैली थिएटरका अध्यक्ष नवराज बुढाथोकीले महोत्सवमा यसपटक बाल मनोविज्ञानदेखि बलात्कार र छाउपडी प्रथामा आधारित विषयमा केन्द्रित नाटकहरू मञ्चन भइरहेको बताए। ‘बालबालिकालाई कला र रंगमञ्चमा सहभागी गराउन महोत्सवले मुख्य भुमिका खेलेको छ’, उनले भने, ‘महोत्सवमा बालबालिकाको मनोविज्ञान, सामाजिक कुरीतिमा केन्द्रित नाटकहरू प्रदर्शन भइरहेका छन्।’

दस दिने महोत्सवमा करिब २० वटा नाटकहरू मञ्चन हुनेछन्। महोत्सवमा उत्कृष्ट अभिनेता र अभिनेत्रीले १०–१० हजार, उत्कृष्ट नाटक र उत्कृष्ट निर्देशनले सात हजार, नव कलाकार र अडिसन च्वाईस अवार्डका विजयीले पाँच हजार प्राप्त गर्नेछन्। पत्रकार स्मृति ढुंगाना, नाटक निर्देशक पुरु लम्साल र कलाकार सरोज अर्यालको निर्णायक टोलीले विभिन्न १९ वटा प्रतिस्पर्धी नाटकलाई ६ वटा विधामा मूल्यांकन गर्नेछन्। महोत्सवमा शैली थिएटरको ‘माटोको फूल’, ‘चित्कार’, ‘पुर्णिमाको कथा’, ‘ठुलो मान्छे’,‘डम्बरी’, ‘भान्का’ र ‘कुबुद्धिको फल’ लगायत नाटकहरु प्रर्दशन भइसकेका छन्।

प्रकाशित: १५ माघ २०७५ ०४:३२ मंगलबार

शैली_थिएटर ‘दशौं_राष्ट्रिय_बाल_नाटक_महोत्सव ब्राइट_जोन_इन्टरनेसन नाटक