कला

‘गाईसँग मेरो अटेचमेन्ट छ’

काठमाडौं – अभिनेता विपिन कार्कीको अभिनयको विविधता आफ्नै किसिमको छ। हरेक फिल्ममा फरक लवज, गेटअपमा प्रस्तुत हुन रुचाउने विपिन त्यही फरक चरित्रलाई फिल्ममा देखाउँछन्। फिल्म ‘लुट’बाट अभिनय यात्रा सुरु गरे पनि उनी फिल्म ‘छड्के’को ‘विन्दु’ चरित्रबाट चिनिए। फिल्म ‘छड्के’ पछि उनलाई फिल्म ‘पशुपतिप्रसाद’को ‘भष्मे डन’ चरित्रले नयाँ उचाई दियो।

यिनै विपिन आगामी माघ १८ गते रिलिज हुने फिल्म ‘गोपी’मा एउटा गाईपालक युवा कृषकको चरित्रमा देखिँदैछन्। विपिनले केही दिन अघिमात्र चितवनका गाईपालक व्यवसायी गोपी ढकालसँग भेटे पछि उनी फिल्मप्रति झन उत्साहित छन्। पत्रकार दीपेन्द्र लामाको निर्देशन रहेको यो फिल्ममा विपिनसँगै नायिकाद्वय वर्षा राउत र सुरक्षा पन्त प्रमुख भुमिकामा देखिँदैछन्। विपिन फिल्म छायांकनमा जानु केही समय अघि मात्र जोडिएका थिए। यसै सन्दर्भमा विपिनसँग फिल्म ‘गोपी’को सेरोफेरोमा रहेर नागरिकले गरेको कुराकानीको सारसंक्षेपः–

छायांकनमा जाने अन्तिम समयमा फिल्ममा जोडिदाको धपेडी कस्तो थियो ?
फिल्ममा फ्लोरमा जानु भन्दा केही समय अघि मात्र जोडिदैछु भन्ने थाहा भयो। दाईहरू पनि अन्तिम समयमा अप्ठ्यारो स्थितिमा पर्नुभएको थियो। त्यो स्थिति सबैलाई जगजाहेर नै छ। उहाँहरूले ‘हामी यो समयमा सुटिङमा जानै पर्नेछ। तर फिल्मका लागि उपयुक्त पात्र भेटिरहेको छैन। तपाईंले छोटो समयमा यो निर्णय लिनुपर्ने हुन्छ’ भन्ने कुरा गर्नुभयो। मैले स्क्रिप्ट हेरें। स्क्रिप्ट मलाई एकदम राम्रो लाग्यो।

स्क्रिप्ट पढ्न त समय लगाउनु भएन नि ?
हो। म एउटा फिल्मको स्क्रिप्ट समय लगाएर पढ्ने गर्छु। तर ‘गोपी’को सवालमा मेरो अनुभव अलिक फरक रह्यो। मैले स्क्रिप्ट हेरेर गर्न सक्छु भन्ने लाग्यो भने गर्छु भन्ने उहाँहरूलाई वचन दिएको थिएँ। मैले रातारात स्क्रिप्ट पढें। मैले आजसम्म एक बसाईमा कुनै स्क्रिप्ट पढेको छैन्। मैले एक सटमै ‘गोपी’ पढें। म त्यो बेला बाँधिएको थिएँ। त्यसकारण जसरी भए पनि स्क्रिप्ट पढ्नैपर्छ भन्ने ध्याउन्न थियो।

स्क्रिप्टको के कुराले तपाईलाई तान्यो ?
मलाई ‘गोपी’को फरक कथाबस्तु र विषयबस्तुले आकर्षित गर्यो। एउटा युवाले गाईपालन गर्दाको संघर्ष आफैमा रोचक थियो। स्क्रिप्ट पढिसकेपछि चरित्रमा ढाल्न स्क्रिप्टमा भएका पात्रजस्तै वास्तविक जीवनमा गाईपालन व्यवसाय गर्ने कृषकलाई भेटें। उनीहरूबाट केही सल्लाह लिएँ। त्यही सल्लाह अनुसारको कामलाई मैले फिल्ममा देखाएको छु। छोटो समयमा काम गरे पनि कामबाट म सन्तुष्ट छु।

रिलमा तपाई गाईपालक कृषक हुनुहुन्छ। रियलमा गाईसँग जोडिनुभएको छ ?
मेरो घर मोरङको बाहुनीमा छ। म स्कुल पढिरहँदा घरमा बुवाआमाले एउटा गाई र भैसी पाल्नुभएको थियो। उहाँहरू र गाईको गतिविधिलाई म नजिकबाट नियालिरहन्थें। गाईसँग मेरो अटेचमेन्ट छ। उसको बानी व्यहोरा देखेको छु। तर गाईलाई व्यावसायिक पाटोबाट चाहिँ हेरेको थिइनँ।

भनेपछि गाईको स्याहारसुसार पनि गरियो ?
बुवाआमाले गर्नुभए जस्तो त गरेको छैन। तर केही चाहिँ गरेको छु। मैले कैयौं चोटी घाँस काटेको छु। गाईलाई घास पनि हालेको छु। स्कुल जाँदा हातमा दुधको क्यान बोकेर दोकानमा पुर्याइदिएको छु। बाल्यकालदेखि नै गाईसँग जोडिएको हुनाले पनि फिल्ममा काम गर्दा खासै गाह्रो भएन। किनकी फिल्मले मेरै कथा भनेको छ।

फिल्मको सुटिङ गर्दा घरको याद आयो होला नि ?
राम्ररी नै आयो। फिल्ममा गाईलाई खोले दिँदा, गोबर सोर्दा, घाँस दिँदा मेरो मन मोरङ नै पुगेको थियो। तर हामीले घरमा एउटा मात्र गाई पालेका थियौं। त्यसकारण हामी व्यवासायिक गाईपालक थिएनौं।

रियल र रिलमा गाईपालनको फरक के हुँदोरहेछ ?
घरमा सामान्यतयाः एउटा दुईवटा गाई पालिन्छ। तर फिल्ममा चाहिँ व्यावसायिक हुँदो रहेछ। घरमा एउटा गाईलाई खोले पकाएर दिए जस्तो फिल्ममा हुँदैन रहेछ। व्यावसायिक गाईपालनमा आयातित १२ देखि १५ वटा गाईहरूमाथिको ‘ट्रिट’ नै फरक तरिकाले गरिँदो रहेछ।

‘गोपी’मा निभाएको चरित्रबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
म एकदमै सन्तुष्ट छु। किनकी हतारमा स्क्रिप्ट पढेर फिल्ममा कामा गर्दा पनि सन्तुष्ट हुन पाएँ। मैले वास्तविक जीवनमा अनुभव गरेका कुरालाई फिल्ममा पनि अनुभव गर्न पाएँ। म त भन्छु यस्तो खालको फिल्महरू अझ बढी बन्नुपर्छ। यस्तो कथामा फिल्म बन्यो भने हाम्रो उद्योग पनि फराकिलो बन्दै जान्छ।

‘गोपी’ हेरिसकेपछि दर्शकले के सिक्ने ?
गोपी एउटा गाईपालक कृषकको कथा हो। देशमा गोपीजस्ता कृषकहरू धेरै छन्। जो व्यावसायिक रूपमा नै गाई पालिरहेका छन्। कृषिसँग जोडिएको विषय भएकाले पनि जोकोही किसानका लागि यो फिल्म प्रेरक बन्नसक्छ। ती किसान फिल्मका दर्शक पनि हुनसक्छन्।

प्रकाशित: १० माघ २०७५ ०६:०० बिहीबार

विपिन_कार्की फिल्म गोपी गाई