कला

‘मनको किनारा’ सार्वजनिक

काठमाडौं – गीतकार तथा मुक्तककार विमला अधिकारी देवकोटाको पहिलो मुक्तकसंग्रह ‘मनको किनारा’ सार्वजनिक भएको छ। राजधानीमा गत शनिबार गजलकार ज्ञानुवाकर पौडेल, समालोचक युवराज मैनाली, प्राज्ञ डा. खेमबन्धु कोइराला, साहित्यकार डा. विधान आचार्य, नियात्राकार प्रतीक ढकाललगायतले संग्रह सार्वजनिक गरे।

गजलकार पौडेलले व्यस्त गृहिणी भएर पनि मुक्तक र गीत सिर्जनाप्रति विमलाको सहभागिता लोभलाग्दो रहेको बताए। उनले साहित्यिक कार्यक्रममा विमलाले देखाएको सक्रियता र उत्साह आम–नारीहरूका लागि पनि अनुसरणयोग्य हुने बताउँदै पुस्तकले मुक्तकमार्फत् देशका अधिकांश नारीले भोग्दै आएको जीवन र आफूले देखेको, जानेको समाजलाई खासगरी गृहिणीको नजरबाट प्रस्तुत गरेको जनाए।

समालोचक मैनालीले विमलाका मुक्तकहरूमा फरक स्वाद पाइने भन्दै मुक्तकमा विविधता रहेको जनाए। गजलकार रुद्र अधिकारीले गजल र मुक्तक लेखनको बाढी आएको बेला पनि विमलाका मुक्तकहरू स्तरीय र परिपक्क रहेको भन्दै संग्रह वर्तमान नेपाली मुक्तक लेखनको एउटा गतिलो कृति रहेको बताए।

प्राज्ञ एवं कवि डा. कोइरालाले साहित्य लेखनमा महिलाको उपस्थितिले उनीहरूको पीडा र भावना उजागर हुने बताउँदै संग्रहको सफलताको शुभकामना व्यक्त गरे। कवि एवं नोबेल साकोस साहित्य प्रतिष्ठानकी अध्यक्ष सरस्वती गौतमले विमलाका मुक्तक नारीका पीडाको प्रतिनिधि भएको बताइन्।

नोबेल साकोस साहित्य प्रतिष्ठानले बजारमा ल्याएको मुक्तकसंग्रहमा सामाजिक विकृति, मायाप्रेम, देशप्रतिको चिन्ता लगायत फरकफरक स्वादका १ सय ९० मुक्तक छन्।

प्रकाशित: १० माघ २०७५ ०५:५५ बिहीबार

विमला_अधिकारी_देवकोटा मुक्तकसंग्रह मनको_किनारा