कला

रियल गोपीसँग रिल ‘गोपी’को भेट

नायक वर्षा राउत र नायक विपिनसँग गाेपी। तस्बिर : नागरिक

चितवन - नायक विपिन कार्की आफ्नो नयाँ फिल्म ‘गोपी’को प्रचारप्रसारमा जुटेका छन् । फिल्ममा उनी गाईपालक कृषकको भुमिकामा देखिएका छन् । फिल्ममा आफ्नो चरित्रलाई न्याय दिनका लागि उनले धेरै गाईपालक किसान भेटे र गाईफार्मको पनि अवलोकन गरेका थिए । तर उनले फिल्मको पात्रसँग मिल्ने नाम भएका गाईपालक कृषक भने भेटेका थिएनन्।

फिल्म प्रचारप्रसारको लागि चितवन आइपुगेका विपिनले संयोगले यहाँ फिल्मको पात्रसँग मिल्ने नाम भएका गाईपालक किसान भेटेका छन् । भरतपुर महानगरपालिका वडा नम्बर १६ को ठुलोगढीमा गाईपालन गर्दै आएका गोपी ढकाललाई विपिनसहित फिल्म युनिटले शनिबार भेटेको हो । ढकालको गाई फार्मको अवलोकन गर्दै नायक विपिनले गाईपालक किसान भएर किसानलाई हौसला दिने पात्रको भुमिका फिल्ममा निर्वाह गरेको बताए । फिल्मको काम सुरु गर्नुअघि भेटेका धेरै किसानका कथाबाट सिकेर आफुले ‘गोपी’मा अभिनय गरेको खुलाए ।

उनले किसानसँग भेटघाट गरेपछि आफ्नै कथा जसरी फिल्ममा अभिनय गरेको बताए । विपिनले फिल्मको ट्रेलर सार्वजनिक भएपछि पनि राम्रो प्रतिक्रिया पाइरहेको जनाए । ‘उहाँको नाम र गाईपालनको जीवन कथा पनि फिल्मको जस्तै रहेछ’, ढकालको गाईफार्म अवलोकन पछि विपिनले भने, ‘गोपी फिल्म हेर्ने सबै दर्शकलाई फिल्ममा गोपीले निर्वाह गरेको भुमिका आफ्नै जस्तो अनुभव गराउनेछ ।’ विपिनले गाईपालन गर्ने किसानले मात्र नभई अन्य कृषि पेसा र व्यवसाय गर्नेलाई पनि फिल्मको कथा आफ्नै भएको महशुस हुने बताए । ‘किसान ढकालको संघर्ष पनि फिल्मको जस्तै रहेछ’, ढकालतिर हेर्दै विपिनले भने । विपिनले गाईपालनको समस्या, चुनौतीका बारेमा पनि छलफल गरेका थिए । विपिन फिल्मकी नायिका वर्षा राउत, लेखक सामिप्यराज तिमल्सेना, निर्माता श्रीधर पौडेलसँगै फार्मको अवलोकन गर्न पुगेका थिए। 

ढकालले २५ वर्ष देखी गाईपालन व्यवसाय गर्दै आएका छन् । उनको फार्ममा एक सयको संख्यामा गाई छन् । उनका अनुसार गाईले दैनिक ८ सय लिटर दुध दिन्छन् । जिन्दगीमा कहिल्यै पनि फिल्म हलमा पाइला नटेकेका किसान ढकालको फिल्मप्रति चासो पनि कम छ । उनलाई छोराले गाईपालक किसानको कथामा बनेको फिल्मको पोस्टर र ट्रेलर देखाएपछि फिल्ममा आफ्नै कथा समेटिएको लागेको थियो।

फिल्म युनिटसँगको कुराकानी पछि गोपीले आफुजस्तै गाईपालक किसानको कथा फिल्मले उठाएकोमा खुशी लागेको बताए । आफ्नै पेशा र आफ्नै नामसँग मिल्ने फिल्म ‘गोपी’ हेर्नका लागि भने पहिलो पटक फिल्म हल पुग्ने उनको योजना छ । ‘पहिलो पटक हलमा गएर आफ्नै नाममा बनेको फिल्म हेर्छु’, उनले भने, ‘किसानका कुरा फिल्ममा आउँदा खुशी लागेको छ।’ 

नायिका वर्षाले स्वरोजगारको विषयलाई फिल्मले गहन रूपमा उठान गरेको बताईन् । ‘फिल्मले किसानको विषयलाई प्रस्तुत गरेसँगै युवालाई देशमा नै स्वरोजगार बन्न समेत प्रेरित गर्नेछ’, उनले भनिन्, ‘नेपाली समाजको विषय र शैली समेटिएको फिल्म दर्शकलाई पनि मनोरञ्जन दिन पक्कै सफल हुनेछ।’ 

आगामी माघ १८ गते रिलिज हुने फिल्ममा सुरक्षा पन्त, प्रकाश घिमिरे, भोलाराज सापकोटा, अंकित खड्कालगायतको पनि अभिनय छ । फिल्ममा दीपेन्द्र लामाको लेखन तथा निर्देशन छ। 

 

प्रकाशित: ७ माघ २०७५ ०२:२० सोमबार

विपिन_कार्की वर्षा_राउत गोपी