लसएञ्जल्स – हलिउडका दुई अभिनेत्री लेडी गागा र एन्जेलिना जोलीबीच फिल्म ‘क्लियोपेट्रा’ को नयाँ भर्सनमा शीर्ष भुमिकामा कसले अभिनय गर्ने भन्ने विषयमा रस्साकसी चलेको छ। ओस्कार अवार्ड विजेता ४३ वर्षीया अभिनेत्री जोली यो भुमिकामा अभिनय गर्न कैयौं महिनादेखि सोनी स्टुडियोका पदाधिकारीहरूसँग छलफल गरिरहेकी छन्। फिल्म ‘अ स्टार इज बर्न’ बाट फिल्मी अभिनयमा ‘डेब्यु’ गरेर चर्चामा आएकी ३२ वर्षीया गागा पनि यो ऐतिहासिक चरित्रमा अभिनय गर्ने दौडमा लागिपरेकी छन्।
इजिप्टकी रानी क्लियोपेट्राको जीवनीमा आधारित सन् १९६३ को फिल्म ‘क्लियोपेट्रा’मा एलिजाबेथ टेलरले शीर्ष भूमिकामा अभिनय गरेकी थिइन्। ‘सन् १९६३ को भर्सनमा एलिजाबेथ टेलरले प्रमुख भुमिका निभाएर आफूलाई हलिउडकी रानीका रूपमा स्थापित गरेकी थिइन्’, ती अधिकारीले भनेका छन्, ‘यसपटक जुन अभिनेत्रीलाई क्लियोपेट्राको भुमिका निभाउने अवसर मिल्छ। उसले यो भुमिकाको भरपुर मज्जा लिनेछ।’ यो फिल्मले सन् १९६३ मा चार ‘ओस्कर अवार्ड’ जितेको थियो। समाचार अनुसार फिल्मको नयाँ भर्सन निर्माणको चर्चा सुरु हुँदा जोलीलाई शीर्ष भुमिकामा अभिनय गराउने चर्चा चले पनि अहिले भने निर्माण पक्ष गागातिर ढल्किएका छन्।
यो फिल्मको सुटिङताका नै फिल्मका अर्का कलाकार रिचर्ड बर्टोनसँग टेलरको अफेयर चलेको थियो। फिल्म पछि उनीहरूले दुईपटक विवाह र सम्बन्धविच्छेद गरे। टेलर र बर्टोनले अभिनय गरेको यो फिल्म ऐतिहासिक तथ्यमा आधारित थियो। फिल्मको नयाँ भर्सन महिलावादी चिन्तन फ्लेभरमा राजनीतिक थ्रिलरको हुनेछ। हलिउडमा ठूला अभिनेत्रीहरूले कुनै फिल्मका लागि अडिसन दिनु नपर्ने अवस्था भए पनि यो फिल्मका लागि भने जोली र गागाको रस्साकसी चलिरहे दुवैले अडिसन दिनुपर्ने अवस्था आउनेछ। क्लियोपेट्राले इजिप्टमा ५१ बिसीदेखि ३० बिसीसम्म शासन गरेकी थिइन्। रोमन शासक जुलियस सिजर र रोमन जेनेरल मार्क एन्टोनीसँगको अफेयरका कारण पनि चर्चामा आएका क्लियोपेट्रालाई अक्टेभीयन सिजरले अपदस्थ गरेका थिए।
प्रकाशित: ३ माघ २०७५ ०६:१३ बिहीबार