कला

प्रकटले तताए पोखरा

पोखरा– प्रेमिल गजलकारको छबी बनाएका प्रकट पंगेनी ‘शिव’ले शनिबार साँझ पोखराको साँग्रिला रिसोर्टमा डेढ दर्जन गजल वाचन गरेर दर्शकको मन जितेका छन्। उनको एकल वाचनको आयोजना गरेको थियो साइकलेहरुको संस्था ‘जि नाइन’ले।  

चिसिँदै गएको पोखरालाई साँझ ७ बजेदेखि पंगेनीले तताए। उनले डेढ घन्टासम्म रोमाण्टिक गजल सुनाए। हरेक गजलमा ‘वान्स मोर’ भन्दै हुटिङ गर्नेमा महिला बढी देखिए। जम्माजम्मी ३२ जोडी श्रोता थिए। प्रति जोडिले चार हजार रुपैयाँको टिकट काटेका थिए। त्यसमा डिनर सुविधा पनि थियो। 

कार्यक्रममा गायक हिराकाजी श्रेष्ठले तीन वटा गीत गाएर मनोरञ्जन दिलाए। जि नाइनको यो पहिलो कार्यक्रम भएको अध्यक्ष निरज थापाले जानकारी दिए। भबिश्यमा पनि यस्तै कार्यक्रम गर्दै जाने उनले बताएका छन्।  

शनिबार १६ औं एकल वाचनमा उभिएका थिए पंगेनी। माघीको सन्ध्यामा सोमबार साँझ नेपालगञ्जमा उनको १७ औं एकल वाचन हुँदैछ। त्यसको आयोजना लायन्स क्लब अफ नेपालगञ्ज र मलमपट्टि मर्निङ वाक ग्रुपले गर्दैछन्। कार्यक्रम साँझ सृुरु हुने कार्यक्रमका आयोजक डा. बद्रि चापागाइँले बताए। 

प्रकाशित: ३० पुस २०७५ ०१:५२ सोमबार

प्रकट_पंगेनी पोखरा गजल_वाचन