कला

बायोपिकमा देखिँदै बलिउड नायिकाहरू

मुम्बई – बलिउडमा बायोपिक फिल्म निर्माणको चलन अझै पनि सकिएको छैन। आगामी केही वर्षसम्म यो क्रम निरन्तर चलिरहने लक्षण फिल्म निर्माताले देखाइरहेका छन्। सन् २०१९ को प्रारम्भसँगै बलिउडले कैयौं चाखलाग्दा कथामा बायोपिक बनाउने काम शुरु गरिसकेको छ। निर्माणको चरणमा रहेका बायोपिकमा अधिकांश बायोपिक महिला केन्द्रित छन्। यी बायोपिकको शीर्ष भूमिकामा बलिउड अभिनेत्रीहरू दीपिका पादुकोणदेखि कंगना रनौतसम्म देखिँदैछन्।

फिल्म ‘मणिकर्णिका’ मार्फत कंगना रनौत अभिनेत्री मात्र नभई एक फिचर फिल्म निर्देशकका रूपमा पनि करियर शुरु गर्दैछिन्। फिल्ममा उनी झाँसीको रानी लक्ष्मीबाईको भूमिकामा छिन्। रानी लक्ष्मीबाई पहिलो महिला योद्धा रानी हुन्। उनले आफ्नो समयमा अंग्रेजका विरुद्ध स्वतन्त्रता संग्रामको नेतृत्व गरेकी थिइन्। फिल्म ‘छपाक’मा दीपिकाले लक्ष्मी अग्रवाल नामक एक बहादुर महिलाको सत्यकथा प्रस्तुत गर्नेछिन्। लक्ष्मी एसिड आक्रमणबाट पीडित एक महिला हुन्। उनले एसिड आक्रमणबाट पीडित बनेका महिलाहरूको पक्षमा काम गर्दै आएकी छन्। यो फिल्मको निर्देशन मेघना गुलजारले गरिरहेकी छन्।

नायिका ऋचा चड्डा फिल्म ‘शकीला’मा शीर्ष भूमिकामा देखिँदैछिन्। यो फिल्मलेसन् ९० को दशकको अन्त्यमा वयस्क फिल्ममा काम गरेकी एक महिलाको कथालाई देखाउनेछ। यो फिल्मले शकीला नामक पात्रमार्फत दक्षिण फिल्मको व्यापारमा एक प्रख्यात सफल अभिनेत्री र सच्चा महिला क्रान्तिकारीको कथालाई पनि प्रस्तुत गर्नेछ। अवार्ड विजेता निर्देशक इन्द्रजीत लंकेशले यो फिल्मको निर्देशन गर्नेछन्।

हालै मात्र बलिउडमा पाइला चालेकी नायिका जान्हवी कपूर पहिलो भारतीय महिला लडाकु एविएटर गुन्जन सक्सेनाको कथालाई दर्शकमाझ ल्याउँदैछिन्। गुन्जनले सन् १९९९ को कारगिल युद्धमा घाइते सैनिकलाई बचाएकी थिइन्। जाह्नवीले यो फिल्मको छायांकन शुरु गरिसकेकी छन्। केही दिन अघि मात्र सुटिङको सार्वजनिक तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो।

अमोल गुप्तेले निर्देशन गर्न लागेको एक बायोपिक फिल्ममा नायिक श्रद्धा कपुर भारतको युवा खेल आइकन साइना नेहवालको भूमिकामा देखिँदैछिन्। साइना ब्याडमिन्टनमार्फत २३ भन्दा धेरै अन्तर्राष्ट्रिय उपाधि जित्ने खेलाडी हुन्। श्रद्धाले आफ्नो भूमिकालाई जीवन्त बनाउन साइनसँग भेटघाट गर्नेदेखि लिएर ब्याडमिन्टन खेल्ने कामलाई पनि निरन्तरता दिइरहेकी छन्। अर्की नायिका ज्याकुलिन फर्नान्डिज ‘डेबोरा हेराल्ड’ नामक एक बायोपिक फिल्ममा देखिँदैछिन्। फिल्ममा उनी भारतीय साइक्लिष्टको भूमिकामा हुनेछिन्। डेबोरा एक २३ वर्षीया साइक्लिष्ट हुन्। निकोबार द्वीप समूहकी डेबोरा यूसीआई, यूनियन साइकिलिस्ट इन्टरनेशनेल प्रतिस्पर्धामा भाग लिने पहिलो भारतीय साइक्लिष्ट हुन्।

प्रकाशित: २९ पुस २०७५ ०५:३९ आइतबार

बलिउड बायोपिक_फिल्म नायिका