कला

जगदिशको सम्झना

रामेछाप – साहित्यकार एवं समाजसेवी जगदिश घिमिरेको पाँचौ स्मृतिमा शनिबार सदरमुकाम मन्थलीमा साहित्यिक सभा र जगदिश घिमिरे साहित्यिक पुरस्कार वितरण कार्यक्रम गरिएको छ।

मन्थली नगरपालिकाको आयोजना र जगदिश घिमिरे प्रतिष्ठानको सह–आयोजनामा भएको कार्यक्रममा राष्ट्रिय र स्थानियस्तरका गरी ३० बढी कविकवियत्रीले रचना बाचन गरेका थिए। जगदिशको साहित्यिक र विकासको यात्रा बुझ्न मन्थली पुगेका राष्ट्रियस्तरका स्रष्टाहरूले उनको योगदानबारे बुझ्दै साहित्यिक रचना सुनाएका थिए।

साहित्यिक क्षेत्र र समाजको विकासमा योगदान पुर्याएका घिमिरेले आफू जीवित रहँदा पनि प्रायःजसो वर्षेनी राष्ट्रियस्तरका साहित्यकार लगेर जिल्लामा साहित्यिक जमघट गरिरहन्थे। घिमिरेको त्यहि चाहनालाई निरन्तरता दिँदै मृत्यु पश्चात पनि जगदीश घिमिरे प्रतिष्ठानले उनको स्मृतिमा वर्षेनी साहित्यिक सभा गर्दै आएको छ। अघिल्लो वर्षसम्म प्रतिष्ठानको आयोजनमा हुने कार्यक्रम यो वर्ष भने मन्थली नगरपालिकाको आयोजनामा गरिएको छ।

नगरपालिकाका नगरप्रमुख रमेश बस्नेतले घिमिरे राज्य र जिल्लाका लागि साहित्य र समाज विकासका धरोहर तथा सामाजिक व्यक्तित्व रहेकाले उनको योगदानको कदर गर्दै सम्मान स्वरुप कार्यक्रम गरिएको बताए। यसअघि प्रमुख बस्नेतले कला, साहित्य र खेलकुदको विकास प्रवर्द्धनका लागि सकेको सहयोग गर्ने उद्घोष गरिसकेका छन्।

कार्यक्रममा यो वर्षको ‘जगदीश घिमिरे साहित्यिक पुरस्कार’ साहित्य पत्रकार रोचक घिमिरेलाई प्रदान गरिएको थियो। ५१ हजार रूपैयाँ पुरस्कार नगरपालिकाका प्रमुख बस्नेतले घिमिरेलाई प्रदान गरेका थिए। जगदिश घिमिरे प्रतिष्ठानले गतवर्षदेखि लेखन र सामाजिक क्षेत्रमा काम गर्ने जो कोहीलाई सिफारिस समितिको छनौंट बमोजिम प्रदान गर्ने निर्णयका साथ पुरस्कारको व्यवस्था गरिएको प्रतिष्ठानकी अध्यक्ष दुर्गा घिमिरेले बताइन।

यो पुरस्कार घोषणा भएको पहिलो वर्ष साहित्यकार मनु ब्राजाकीलाई प्रदान गरिएको थियो। कार्यक्रममा जगदिश घिमिरेका प्रतिनिधि कथासंग्रहको विमोचन पनि गरिएको थियो। संग्रहको प्रकाशन नेपाल प्रज्ञा प्रतिष्ठानले गरेको हो। पुस्तकको सम्पादक महेश प्रसाई हुन्।

प्रकाशित: २५ पुस २०७५ ०२:५२ बुधबार

साहित्यकार जगदिश_घिमिरे स्मृति साहित्यिक_सभा