कला

फेसन डिजाइनरको प्रतिष्पर्धा

काठमाडौं – नेपाली फेसन डिजाइनरका सिर्जना अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्दै फेसन डिजाइनरको कलाको सम्मान गर्ने उद्देश्यले ‘डिजाइनर अफ द इयर’ प्रतियोगिता आयोजना हुने भएको छ।

नेपाल पहिलो पटक आयोजना हुन लागेको फेसन डिजाइनरबिच प्रतिस्पर्धा रहने प्रतियोगिता नेक्स्ट मोडल्स नेपालले आयोजना गर्न लागेको हो । मोडल्सका अध्यक्ष रवि धमलाले प्रतियोगिताको उद्देश्य उत्कृष्ट फेसन डिजाइनरको चयन गरी विजेता डिजाइनरको सिर्जना र प्रतिभालाई अन्तर्राष्ट्रिय बजारमा प्रस्तुत गर्ने रहेको बताए।

रविका अनुसार प्रतियोगिताको विजेताले कोरियामा आयोजना हुने ‘एलबिएमए स्टार अवार्डस् २०१९’, ‘पूणे फेसन विक २०१९’ तथा ‘फेसन एक्स्पो २०१९’ मा सहभागिता जनाउँदै आफ्नो कलेक्सन प्रस्तुत गर्ने अवसर प्राप्त गर्नेछन् । यसको अलावा ‘मिलान फेसन वीक’मा समेत सहभागिताको अवसर पाउनेछन्।

सहभागी डिजाइनरले प्रतियोगितामा स्पेशल ग्रुमिङ कक्षा, सेल्फ मार्केटिङ, फेसन उद्यम, सञ्चार, मिडिया मार्केटिङलगायतका तालिमसमेत लिन पाउनेछन् । प्रतियोगीतामा सहभागीलाई सम्बन्धित क्षेत्रका फेसन विज्ञ र जानकारवालासँग समेत अन्तरक्रिया गराइनेछ।

प्रकाशित: २४ पुस २०७५ ०३:३८ मंगलबार

फेसन_डिजाइनर डिजाइनर_अफ_द_इयर प्रतियोगिता