कला

गायनमा ब्रिटनीको ‘अनिश्चितकालिन’ विश्राम

लसएन्जल्स – अमेरिकी पपस्टार ब्रिटनी स्पेयर्सले गायन करियरबाट ‘अनिश्चितकालिन’ विश्राम लिने घोषणा गरेकी छन्। स्पेयर्सले आफ्ना पिता जेमीको स्वास्थ्य अवस्था बिग्रँदै गएकाले पिताको स्वास्थ्यमा ध्यान दिन गायन करियरबाट विश्राम लिने निर्णय लिएको जनाएकी हुन्।

ब्रिट्नी आगामी फेब्रुअरीमा पार्क थिएटर लसभेगासमा नयाँ शो ‘डोमिनेसन’को तयारीमा थिइन्। उनले यो कामलाई पनि हालका लागि स्थगित गरेकी छन्। ‘म अहिले मेरो ध्यान र शक्ति परिवारको हेरचाहमा नै लगाउँदैछु। परिवारसँग मेरो विशेष सम्बन्ध छ’, ३७ वर्षीया गायिकाले भनेकी छन्, ‘म यो समय परिवारसँग रहन चाहन्छु। किनकी उहाँहरूले मलाई धेरै समय दिइसक्नुभएको छ।’

ब्रिटनीका पिता दुई महिनादेखि एउटा गम्भीर रोगबाट पीडित छन्। उनले आफ्नो इन्स्टाग्राममा पिताको ‘करिब मृत्यु भइसकेको’ उल्लेख लेखेकी छन्। अघिल्लो महिनासम्म अस्पतालमा रहेका ब्रिटनीका पिता अहिले घर फर्किइसकेका छन्। उनले फ्यानसँग क्षमा मागेर ‘आत्मादेखिको निर्णय’ भन्दै लसभेगासमा हुने ‘ब्रिटनीः डोमिनेसन’मा सहभागी नहुने जनाएकी छन्। आयोजकले ब्रिटनीको लागि बिक्री भइसकेका टिकटको ‘रिफन्ड’ गर्ने बताएको छ।

सन् १९९० र सन् २००० की आइकनका रूपमा परिचित ब्रिटनीले परिवारलाई नै पहिलो प्राथमिकता दिनका लागि आफूले निर्णय लिएको बताएकी छन्। ‘दुई महिना अघि बुवालाई माया मारेरै भए पनि अस्पताल भर्ना गरेका थियौं। उहाँ बाँचेपछि हामी भाग्यमानी भयौं। तर पनि उहाँका लागि अझैं लामो बाटो तय गर्नुपर्नेछ’,ब्रिटनीले भनेकी छन्।

प्रकाशित: २२ पुस २०७५ ०२:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App