कला

भण्डारखालमा नेपाल भाषा साहित्य चर्चा

काठमाडौं - मदनकृष्ण श्रेष्ठले आफ्नो जीवनमा धेरै नाटक खेले, यसको ठीक संख्या उनलाई नै थाहा छैन। तर उनलाई के चाहिँ थाहा छ भने उनले जति नाटक खेले, त्यसमध्ये सबैभन्दा मन छुने थियो, किसी न्याइम्ह मदनमान। यस्तो किन भन्दा यो नाटक थियो, उनको मातृभाषा नेपाल भाषामा। मातृभाषामा आफ्नो अभिव्यक्ति दिनुको मज्जा नै यही हो। पाटन म्युजियममा शनिबार सम्पन्न दोस्रो नेपाल भाषा साहित्य नखःका अवसरमा यस्तो भावना पोखेका हुन्, मदनकृष्णले। अन्तरक्रियाको विषय थियो, नेपाल भाषा मञ्चन साहित्य।

अन्तरक्रियामा सहभागीमध्ये एक थिए, घिमिरे युवराज। उनको धारणा थियो, आफ्नो मातृभाषामा नाटक गर्नुको मज्जा नै बेग्लै। उनले थपे, ‘आफ्नो भाषालाई जीवन्त राख्न धेरै गर्नुपर्छ। त्यसमध्ये एक हो, नाटक।’ अन्तरक्रियाका सहभागी थिए, रामकृष्ण खड्की र हिसिला महर्जन। लगत्तैको अर्को अन्तरक्रियाको विषय थियो, नेपाल भाषाको किताबको वजार व्यवस्थापन। छलफलमा सहभागी मण्डला बुक्सका माधव महर्जनले भने, ‘अब नेपाल भाषाका लेखक र प्रकाशकले आफ्नो व्यवस्थापन शैली फेर्नु र्छ।’ यस्तै विचार थियो, विमल ताम्राकार र शुभानी सिंहको पनि। बुक हिलका भूपेन्द्र खड्काले भने, ‘नेपाल भाषाका साहित्यकार र प्रकाशकले मिहिनेत गर्ने हो भने यसको बजार पनि सानो भने छैन्। हुने छैन पनि।’

त्यसअघि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले संयुक्त रुपमा कार्यक्रमको उद्घाटन गरेका थिए। सो अवसरमा तीन पुस्तकको लोकार्पण गरियो। ती पुस्तकमध्ये वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले इन्द्र मालीको ‘नेपाल भाषाया यासु धुकू’ लोकार्पण गरे भने कवि दुर्गालाल श्रेठले भुषणप्रसाद श्रेष्ठको ‘छन्द १०१ व नेवाः गजल’ र राजेन मानन्धरको ‘हलहल बुंगद्यः’ विमोचन गरे।

नेपाल भाषा टाइम्सको आयोजनामा भएको दोस्रो नेपाल भाषा साहित्य नखःको उद्घाटन सत्रका अवसरमा दुर्गागाल र मल्ल के सुन्दरले प्रकाशित पुस्तकको समीक्षा गरेका थिए। कार्यक्रमका अवसरमा कविता, कथा र निबन्ध पनि पाठ गरिए। यस्तै सुरेश किरणको रचना तथा रामकृष्ण खड्कीको निर्देशनमा प्रहसन ओम नमः शिवाय प्रस्तुत गरिएको थियो। साथै, स्वर्गीय पद्मरत्न तुलाधरको अन्तिम प्रहसन जातः गुरु पनि मञ्चन गरिएको थियो। जसको निर्देशक थिए, रमेशकाजी स्थापित। त्यसबीच महन्तलाल मल्लले स्टायन्ड अप कमेडी पनि प्रस्तुत गरे।

प्रकाशित: १५ पुस २०७५ ०१:४६ आइतबार

नेपाल_भाषा_साहित्य मदनकृष्ण_श्रेष्ठ नाटक