कला

चैत पुग्यो ‘लभ स्टेसन’

काठमाडौं – फागुनको तेस्रो साता रिलिजको तयारीमा रहेको फिल्म ‘लभ स्टेसन’ चैत १ मा रिलिज हुने भएको छ। नायक प्रदीप खड्का र नायिका जसिता गुरुङ अभिनित फिल्मले चैत १ लाई रिलिज मिति ‘लक’ गरेको हो।

फिल्मका प्रस्तुतकर्ता एवम् वितरक गोविन्द शाहीले आफूले वितरण गरेको फिल्म ‘क्याप्टेन’ फागुन १७ मा, ‘साईली’ चैत १५ मा र ‘ए मेरो हजुर ३’ चैत २९ मा रिलिज हुने भएपछि फिल्मको प्रदर्शन व्यवस्थित गर्न ‘लभ स्टेसन’लाई चैत १ मा पुर्याइएको बताए। ‘हामी फिल्म सम्पादनको अन्तिम चरणमा छौं। अर्को साताबाट डबिङको काम शुरु हुनेछ’, गोविन्दले भने, ‘फिल्मको दुई गीत तयारी अवस्थामा छ। दुई गीतको छायांकन चाँडै नै गर्नेछौं।’

उज्ज्वल घिमिरे निर्देशित फिल्म सांगीतिक प्रेमकथामा आधारित छ। उनले फिल्मको नाम अनुसार ‘लभ स्टेसन’ ठाउँ विशेष रहेको बताए। काफिया फिल्मस्को व्यानरमा काफिया शाही ‘क्रिसु’ र कविरविक्रम शाहीले निर्माण गरेको फिल्ममा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, विनोदकुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानालगायतको अभिनय छ।

आलोक शुक्लाको छायांकन रहेको फिल्ममा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ।

प्रकाशित: ६ पुस २०७५ ०३:०० शुक्रबार

लभ_स्टेसन प्रदीप_खड्का जसिता_गुरुङ लक