कला

सलमानकी हिरोइन चढेको कार दुर्घटना, एकको मृत्यु

मुम्बई– बलिउड अभिनेत्री जरीन खान चढेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जरीनलाई सलमान खानकी हिरोइनको रुपमा चिन्ने गरिन्छ। उनलाई सलमानले आफ्नो फिल्म ‘वीर’बाट बलिउडमा डेब्यु गराएका थिए। 

जरीनको कार बुधवार साँझ भारतको गोवास्थित मापूसा क्षेत्रमा दुर्घटनामा परेको हो। तीव्र गतिमा रहेको कारलाई हेलमेट नलगाई मोटरसाइकल चलाइरहेका युवकले ठक्कर दिएका थिए। घटनामा मोटरसाइकल चालक ३० वर्षीय नितेश गोरलको मृत्यु भएको गोवा प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्। अभिनेत्री जरीन पनि घटनामा परी घाइते भएकी छिन्। उनलाई पणजीको एक निजी अस्पतालमा भर्ना गरिएको छ। 

गोवा प्रहरीले कारका चालकविरुद्ध अंजुना पुलिस स्टेशनमा मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अघि बढाएको छ। 

प्रकाशित: २७ मंसिर २०७५ १०:५० बिहीबार

जरीन_खान कार_दुर्घटना बलिउड