कला

‘गोपी’मा विपिनको ‘किसान’ रुप

काठमाडौं – नायक विपिन कार्कीलाई गाई पाल्ने किसानको चरित्रमा प्रस्तुत गरिएको फिल्म ‘गोपी’को फष्टलुक सार्वजनिक भएको छ। बुधबार सार्वजनिक गरिएको चारवटा पोस्टरमध्ये सबैमा विपिन उपस्थित छन्। एक पोष्टरमा मात्र फिल्मका दुई अभिनेत्री वर्षा राउत र सुरक्षा पन्तलाई देख्न सकिन्छ।

आरोही केसीको निर्माण तथा सञ्चारकर्मी दीपेन्द्र लामाद्वारा निर्देशित फिल्मको पोष्टरमा विपिनको पेशा झल्किने गरी गाई र दूधको क्यानलाई देखाइएको छ। फिल्म आगामी माघ १८ मा रिलिज हुँदैछ।

निर्देशक लामाका अनुसार विपिनको सडक दुर्घटनाका कारण फिल्मको पोस्टर निर्धारित समयभन्दा ढिलो रिलिज गरिएको हो। ‘विपिनलाई यसै हप्ता गाईफार्ममा लगेर फोटोसुट गराएपछि मात्र पोस्टर तयार पारेका हौं’, निर्देशक लामाले भने, ‘पोस्टरको कलर कम्बिनेसन र कलाकारहरूको भाव मलाई चित्त बुझेको छ।’

आरोही इन्टरटेनमेन्टको ब्यानरमा बनेको फिल्ममा प्रकाश घिमिरे, रमेश अधिकारी, अंकित खड्का, भोला सापकोटा, कमलमणि नेपाल, कुन्ती सिमाली, हिउँवाला गौतम, सरोज अर्याल, केशव राईलगायतले पनि अभिनय गरेका छन्।

फिल्ममा सामिप्यराज तिमल्सिनाको पटकथा, शैलेन्द्र डी कार्कीको छायांकन, बुद्धिसागर र विप्लव प्रतिकको गीत, निमेष श्रेष्ठको सम्पादन, न्ह्यू बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत र रोहित शाक्यको पाश्र्व संगीत छ। फिल्ममा पत्रकार श्रीधर पौडेल कार्यकारी निर्माता छन्।

प्रकाशित: २७ मंसिर २०७५ ०३:१३ बिहीबार

नायक_विपिन_कार्की गोपी