कला

गीतमा ‘नाम पछाडि थर’

सोलुखुम्बु – मंसिर, लगनको महिना। यो महिनामा धेरैको वैवाहिक सम्बन्ध गाँसिन्छ। कलाकर्मीले यही समयको अवसर पारेर पञ्चेबाजाका गीत बजारमा ल्याईरहेका छन्। पश्चिमका भाकामा पञ्चेबाजाको गीत सुन्न पाए पनि पूर्वेली गीतमा पञ्चे बाजा गीत सुन्न विरलै पाइन्छ। पूर्वेली कलाकर्मीहरू आफ्नै भाकामा बिहेका कुरा गर्छन्।

लगनको महिनामा उमेर पुगेका छोराछोरीलाई घरपरिवारबाट विवाहको लागि दबाब पनि हुन्छ। यो बेला आफूले मन पराएको मान्छेसँग विवाह गर्न कसलाई मन हुँदैन। विवाहका लागि दबाब आएपछि     ‘सोल्टी–सोल्टीनी’ पुर्वेली गीत ‘नाम पछाडी थर’मा समावेश गरिएको छ। धेरै महिलालाई आफ्नो नाम पछाडी मन पराएको पुरुषको थर जोड्ने रहर पनि लाग्छ। यो रहरलाई पनि गीतले बोलेको छ।
आकाशैमा गड्याङ गुडुङ डाँडैमाथि कुहिरो
बाउआमालाई छोरी माग्ने कुटुम्बको धुईरो
नाम पछाडी थर
कहिले हुन्छ सोल्टीज्यू, तिम्रो मेरो घर
तरकारीमा आलु राजा, फलफूल मिठो मेवा
मैले बैना मारेपछि तिमी मेरै पेवा
नाम पछाडी थर
छिट्टै हुन्छ सोल्टीनी, तिम्रो मेरो घर

शिखर गजरकोटेको मौलिक शब्द तथा शिवसंगम राईको पूर्वेली भाकामा प्रियजन राई र विमला राईको स्वर छ। गायिका राई २०७४ सालमा सोलुखुम्बुमा आयोजना गरिएको ‘जिल्लाव्यापी लोकगीत गायन प्रतियोगीता’मा प्रथम भएकी थिईन्।
गीतको उत्पादन पूर्वेली जुनतारा म्यूजिकले गरेको हो। कम्पनीका सञ्चालक तथा गायक प्रियजन राईले पूर्वेली कलाकारलाई अघि बढाउन सहयोग गर्न पाउदा खुशी लागेको बताए। ‘पूर्वेली गीतमा लाग्ने कलाकारको कमी भइरहेको बेला पूर्वेली गीतको प्रकाशनमा सहयोग गरेका हौं।’ उनले भने।

प्रकाशित: २५ मंसिर २०७५ ०३:५८ मंगलबार

पूर्वेली_गीत पञ्चे_बाजा