कला

‘मिस वल्र्ड नेपालले जित्नेमा ढुक्क छौं’

मकवानपुर - ‘मिस वल्र्ड नेपाल २०१८’ विजेता श्रृंखला खतिवडालाई जिताउन उनका बुवा विरोध खतिवडासहितको एक टोली बिहीबार चीन उडेका छन्। टोलीमा श्रृंखलाकी आमा मुनु सिग्देल, मामा माइजु, दाजुभाइ र साथीसहित ३१ जनाको टोली चीनतर्फ उडेका हुन्।

बुवा विरोधका अनुसार टोलीले श्रृंखलालाई ‘मिस वल्र्ड’ प्रतियोगिता हुने चीनको पर्यटकीय सहर सान्यामै भेट्ने योजना बनाएको छ। ‘श्रृंखलालाई भेट्न आयोजकले समय दियो भने सान्यामै उनलाई भेट्नेछौं,’उनले भने, ‘बरु हामी बसेको ठाउँमा आउँन चाहिँ आयोजकले देला–नदेला। छेन्दुमा ८ घण्टा ट्रान्जिट रहेकाले शुक्रबार बिहान ७–८ बजे मात्र सान्या पुग्छौं।’

छोरी श्रृंखलालाई चीनमै भेटेर आत्मबल दिन आमा मुनु बुधबारै हेटौंडाबाट काठमाडौंस्थित घर आएकी थिइन्। ‘मिस वल्र्ड हेर्न हाम्रो टिकट बुकिङ भइसक्यो,’ उनले उत्साही हुँदै नागरिकसँग भनिन्। आमा मुनुले ‘मिस वल्र्ड’को अन्तिम तयारीका लागि श्रृंखला गत मंगलबारदेखि क्लोज क्याम्पमा रहेको बताइन्।

‘बुधबार बिहान हिड्ने बेलामा हतार–हतार फोन गरेकी थिईन्,’ उनले भनिन्, ‘अब फाइनल स्टेजको तयारीमा छिन्।’ केही समय यता मुनु फेसबुकमा ‘मिस वल्र्ड नेपाल’ फेसबुक पेजका पोष्ट र श्रृंखलालाई भोटका लागि आग्रह गरिएका पोष्टलाई शेयर र फरवार्डसँगै अन्तरवार्ता दिन व्यस्त थिईन्। ‘विभिन्न मिडियामा एक दर्जन बढी अन्तरवार्ता दियौं,’ उनले भनिन्, ‘यसपटकको ‘मिस वल्र्ड’ नेपालले जित्नेमा ढुक्क छौं।’

श्रृंखलाले ‘मिस वल्र्ड मल्टिमिडिया अवार्ड’ र ‘ब्युटी विद अ पर्पस’ अवार्ड हात पार्दै ‘मिस वल्र्ड २०१८’ को उत्कृष्ट ३० मा आफूलाई उभ्याएकी छिन्। उनी ‘मल्टिमिडिया अवार्ड’ जित्ने पहिलो र ‘ब्युटी विद अ पर्पस’ जित्ने दोश्रो ‘मिस नेपाल’ हुन्। श्रृंखलाको जितले उनको परिवार, गृहजिल्ला मकवानपुरसहित देशविदेशमा रहेका नेपाली उत्साहित छन्।

बुवा विरोधले नेपालीले हेरे जसरी नै आफूले पनि छोरीको प्रतियोगिता हेरेको बताए। ‘श्रृंखलाले जित्न चाहेकै ‘मिस वल्र्ड’ पछिको दोश्रो ठूलो मानिने ‘ब्युटी विद अ पर्पस अवार्ड’ जितिन्। ‘मल्टिमिडिया’ त पछि महशुस गरेर जितेकी हुन्,’ उनले भने, ‘सबै नेपालीले चाहेकै नतिजा (मिस वल्र्डको विजेता) हामीले पनि चाहेको छौं।’ उनले ‘मिस वल्र्ड’मा दुई अवार्ड जितेपछि श्रृंखलामा धेरै उत्साही, आत्मविश्वास बलियो भएको बताए।

विश्वका १ सय २१ देशकी सुन्दरी सहभागी ‘मिस वल्र्ड’ प्रतियोगिताको फाइनल यही शनिबार अर्थात डिसेम्बर ८ मा हुँदैछ। विश्वका सञ्चारमाध्यमले अरू देशसँगै नेपाललाई सम्भावित ‘मिस वल्र्ड’को ‘प्रतिष्पर्धी’को रूपमा चर्चा गरिरहेका छन्। युट्युब च्यानल, भोटिङ साइट तथा अनलाइन पोर्टलले अवार्ड जित्नु अगाडि नै श्रृंखलालाई ‘मिस वल्र्ड’ जित्न सक्ने प्रतियोगीको रूपमा ‘टप १५’ भित्र समावेश गरेका थिए। नेपालबाट ‘मिस वल्र्ड’मा प्रतिनिधित्व गर्नेमध्ये सन् २०१३ की ‘मिस नेपाल’ इशानी श्रेष्ठले मात्र सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। इशानी ‘ब्युटी विद पर्पस’को विजेता बन्दै सेमिफाईनलको यात्रा गर्न सफल भएपनि ‘उत्कृष्ट १०’ सम्म पुगेर उनको यात्रा टुंगिएको थियो।

प्रकाशित: २१ मंसिर २०७५ ०२:४१ शुक्रबार

मिस_वल्र्ड_नेपाल श्रृंखला_खतिवडा