कला

शिल्पीमा एकल बाल नाटक महोत्सव

काठमाडौं – बालबालिकाहरूलाई अध्ययन अध्यापनसँगै बाह्य समाजमा उजागर गराउन राजधानीमा ‘दोस्रो प्रज्ञा लालाबाला राष्ट्रिय एकल बाल नाटक महोत्सव २०७५’ हुने भएको छ। महोत्सव प्रज्ञा स्कुलले आयोजना गर्न लागेको हो।

महोत्सवका निर्देशक टंक चौलागाईंले किताबी अक्षरबाट मात्र बालबालिकाहरू गुणी हुन नसक्ने भएकाले उनीहरूलाई सामाजिक, सांस्कृतिक तथा भौगोलिक विविधतासँग साक्षात्कार गराउन महोत्सव आयोजना गर्न लागिएको बताए।

‘कलाको एउटा पाटो अभिनय कलामार्फत् बालबालिकाहरूमा भएको प्रतिभा प्रस्फुटनका लागि यो महोत्सव आयोजना गर्न लागेका हौं,’ उनले भने, ‘महोत्सवले अभिनय कलामा रुचि भएका बालबालिकालाई अवसर प्रदान गर्नेछ।’ उनका अनुसार अभिभावकहरूसमेत यस्ता सिकाइमा विश्वस्त हुँदै गएकाले पछिल्लो समय अतिरिक्त क्रियाकलापमा अभिनयका कक्षाहरू समेत पाठशालामा सञ्चालन हुन थालेका छन्।

महोत्सवमा देशभरबाट ९ वर्ष माथिका बालबालिकाहरूले भाग लिनेछन्। जसका लागि दर्ता आव्हान भइसकेको छ। विद्यालयका शिक्षकमार्फत् या विद्यालयको आधिकारिक पत्रसहित विद्यार्थी आफैंले पनि नाटक दर्ता गराउन सक्ने व्यवस्था गरिएको छ। आयोजकले एक विद्यालयबाट दुईजनासम्मले दर्ता गर्न सक्ने प्रावधान बनाएका छन्।

त्यस्तै बालबालिकाहरूले अनिवार्य अभिनय गरेको नाटक हुनुपर्ने तथा लेखन, निर्देशन भने अन्य जोसुकैले गर्न सक्नेछन्। कम्तीमा ५ मिनेटदेखि बढीमा १० मिनेटसम्मको नाटकलाई मात्र मान्यता दिइने जनाइएको छ। अभिनयका विषयबस्तु शिक्षा, संस्कृति, बालमनोविज्ञान, बालअधिकार, प्रविधि, विज्ञान, सामाजिक विषयवस्तु वा चर्चित परिकथा, लोककथा हुनुपर्ने प्रावधान तोकिएको छ।

तीन दिनसम्म चल्ने महोत्सवमा बालबालिकाहरूलाई विशिष्ट रंगकर्मीबाट नाटक, अभिनय सम्बन्धी तालिम दिएपछि मञ्चमा उतारिने छ। कथावस्तु, विद्यार्थीको नाम, नाटकको सारांश र स्क्रिप्ट र प्रस्तुति अभ्यासको फोटो पुष महिनाभित्र बुझाईसक्नुपर्नेछ।

फागुन १,२ र ३ गतेसम्म चल्ने महोत्सव शिल्पी थिएटर बत्तिसपुतलीमा सञ्चालन हुनेछ। महोत्सवमा उत्कृष्ट पाँच नाटक घोषणा गर्दै जनही चार हजार रुपैंयाँ पुरस्कार प्रदान गरिनेछ।

प्रकाशित: १८ मंसिर २०७५ २३:२७ मंगलबार

बाल_नाटक प्रज्ञा_स्कुल