कला

गीत र चित्रमा सशक्त अमिर

काठमाडौं - हात र खुट्टा नचल्ने भएमा जीवनको कल्पना गरेर हास्ने मानिस विरलै होलान्। मकवानपुर पालुङका उनी जन्मजात अशक्त उनलाई हरेक काम गर्न अरुको सहयोग चाहिन्छ। उनी ह्विल चेयर सार्नेदेखि अन्य दैनिकीका काम गर्न पनि सक्दैनन्। तर जीवनमा केही गरुँ भन्ने उनको आँट भने सग्ला हातखुट्टा भएका मानिसको भन्दा बलियो छ। निखारिएको उनका स्वर कुनै पेसागत गायकीको भन्दा कम छैन्। हातले चित्र बनाउने सयाैं चित्रकार नेपालमा छन्। उनी भने मुखैले क्यानभासमा कुची चलाउँछन्। हात वा खुट्टा नभएका वा कुनै एकाध अंग नचल्ने भएकाले दोस्रो हात वा खुट्टाको सहायताले काम गर्ने गर्छन्।

उनी अर्थात अम्बर बम्जन, गत शुक्रबार जसको स्वर सुनेर मुग्ध नहुने कमै थिए। ‘मलाई गणना गर’ भन्ने नाराका साथ अपांगता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस मनाउने क्रममा उनको चित्रकला प्रदर्शनी र गीत विमोचन गरिएको थियो। बसन्त सापकोटाको संगीतमा उनै अमिरले ‘मेरो देश कतै अल्झियो कि’ सुनाउँदा सबैजना देशप्रति केही गर्नुपर्छ भन्ने भावमा एकोहोरिए। उनकै स्वरमा रहेको ‘दैवले मलाई ठगे पनि’बोलको गीतले उनको गायकीको विविधता झल्काउथ्यो। यो गीतमा दिनेश थपलियाको शब्द छ। भीमफेदी गाइजले उनको म्युजिक भिडियोमा अभिनय गरेका छन्। भिडियोको प्रविण श्रेष्ठले निर्देशन गरेका छन्।

चित्र कोरेर देखाउने क्रममा उनले मुखैले बनाएको सुन्दर चरी कुनै पोख्त कलाकारको भन्दा कम उम्दा थिएन। उनलाई कला सिकाउने गुरु कलाकार किरण मानन्धरका अघि कला कोर्दै गर्दा आफुले भाग्यमानी अनुभुत गरेको बताए।

संगीतकार न्ह्यु बज्राचार्यसँग गायकी र संगितको सुर सिकेका उनले अझै धेरै सिक्ने अभिलाषा व्यक्त गरे। ‘म हारेको छैन। जीवनमा केही गर्छु भनेर अघि बढिरहेको छु,’ बम्जनले भने, ‘अपांगता भएका व्यक्तिको परिवार, समाज र सरकारले बुझिदिएमा तपाईहरू सरह गर्नसक्छु।’

सानोछँदा गाउँको घरको बार्दलीमा थुप्रिएको शरीरमा उर्जा भर्न उनी चरा स्वरसँगै एक्लै गुनगुनाउथे। महाभुकम्पले घर भत्किएपछि टहरामा अलपत्र परेका उनलाई सहयोगी संस्था करुणा फाउण्डेसनसम्म कुनै दयालुले पु¥याइदिए। सहयोग र साथ पाएपछि आफुभित्रको कलाकारिता बाहिर निकाल्न सकेको उनले सुनाए । उनीसँगै खुट्टा असक्त भएका भक्तपुरका लक्ष्मीभक्त भासिमाले पनि चित्र बनाए। कला प्रदर्शनीमासमेत सामेल भए। अवसरको अभाव भएपनि आफुभित्र सग्ला मानिसले गर्नसक्ने सबै खुबी रहेको उनले उल्लेख गरे। चित्र बनाएपछि बजारमा पु¥याउन र आर्थिक उपार्जन गर्न आफुजस्ता अपांगले कठिनाई भोग्नुपर्ने पीडा उनले सुनाए। देवीदेवताको चित्र परमपरागत कलाको धारमा बनाउन खप्पिस छन् उनी। ल्याण्डस्केपमा जलरंग सजाउन बेला–बेलामा अन्य कलाकारका साथमा विभिन्न स्थानमा पुग्ने गर्छन्।

नेपालका साहित्यकार पारिजात, झमक घिमिरे झै उनीहरू भित्रको कलाकारिता फस्टाउन दिए भविष्यमा देश चिनाउने अब्बल कलाकार बन्न सक्ने फाण्डेसनका सहनिर्देशक योगेन्द्र गिरी बताउँछन्।

अशक्त छु भनेर हैन आफुभित्रको बौद्धिक गुणलाई पहिचान गरेर अघि बढ्ने हौसला दिन आफुहरू सँधै तयार रहेको दुबै कलाकार बताउँछन्। प्रदर्शनीमा राखिएका दुई दर्जन बढी चित्रहरू बिक्रीबाट आएका रकमले उनीहरूजस्तै अपांगता भएकाको सहयोगका लागि उपयोग गरिने संस्थाले जनाएको छ।

प्रकाशित: १६ मंसिर २०७५ ०२:३७ आइतबार

अम्बर_बम्जन चित्रमा_सशक्त