कला

नेपथ्यको मुलुक यात्रा धनगढीमा पुगेर सकियाे

तस्बिर : सुमित श्रेष्ठ/दिपेशआचार्य/नेपालय

धनगढी - पूर्वकाे बिर्तामाेडबाट सुरु भएकाे नेपथ्यको सांगीतिक यात्रा पश्चिम धनगढीमा पुगेर सम्पन्न भएकाे छ।मंसिर ४ गते सुरु भएको यो यात्रा धरान, बुटवलहुँदै सुदूरपश्चिमको धनगढी आएर सकिएको हो। बिहीबार बेलुकी धनगढीको मैदानमा नेपथ्यले अाफ्नाे प्रस्तुती दिएकाे थियाे।
‘यो ठाउँ आउँदा मलाई द्वन्द्वकालको चरम दिनहरुमा हामीले गरेका यात्राको सम्झना हुन्छ,’ धनगढीका दर्शकहरुसँग संवाद गर्दै नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङले भने, ‘अब चाहिँ युद्धपछि सुधारोन्मुख नेपाल देखापर्न लागेकामा खुशी छु।’ धनगढीमा यो नेपथ्यको चौथो उपस्थिती थियो। २०६२ सालमा ‘सुन्दर शान्त नेपाल’ र तीन पटक ‘शान्तिको लागि शिक्षा’ संगीत यात्रा अभियान अन्तर्गत ब्याण्ड यहाँ उपस्थित भएको थियो।
‘सा कर्णाली’ म्यूजिक भिडियोको प्रस्तुतीका साथ सुरु भएकाे धनगढीकाे कन्सर्ट दुर्इ घण्टा सम्म चलेकाे थियाे। साे क्रममा ब्याण्डका नयाँ तथा पुराना गीतहरु प्रस्तुत गरेकाे थियाे। कन्सर्टको अन्त्य ७३ वर्षअघि कवि गोपालप्रसाद रिमालले शब्द दिएका कालजयी गीत ‘रातो र चन्द्रसूर्जे’ बाट भएको थियो। ब्याण्ड स्थापनाको २५ वर्ष पुगेको उपलक्ष्यमा नेपथ्यले यसरी देसभर कार्यक्रम आयोजना गरेको हो। देशको जटिल र सहज सबै परिस्थितीमा देशवासीको साथ रहन पाउँदा आफुलाई खुशी लागेको गायक गुरुङले बताए।

 

 

प्रकाशित: १५ मंसिर २०७५ ०९:३१ शनिबार

नेपथ्य धनगढी सांगीतिक_यात्रा