कला

‘ठगको दोषी म’

मुम्बई – फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ बक्स अफिसमा फ्लप भएपछि फिल्मका नायक आमिर खानले पहिलोपटक मुख खोलेका छन्। उनले गत सोमबार फिल्म नचलेको कुरालाई पत्रकारमाझ स्वीकारेका हुन्।

‘ठग्स अफ हिन्दुस्तानलाई दर्शकले मनपराएनन्। म यो कुराको पूर्ण जिम्मेवारी लिन्छु। मलाई लाग्छ कि हामी गलत साबित भयौं। हामीले फिल्म राम्रो बनाउन पूर्ण कोशिस गरेकै हो। यो कोशिसमा कुनै कसर बाँकी राखेनौं। तर पनि कहिँ न कहिँ हामी गलत साबित भयौं,’आमिरले भनेका छन्।

आम दर्शकले फिल्म मननपराए पनि केही मात्र दर्शकले फिल्म मनपराएकोमा आभार व्यक्त गरेका छन्। ‘केही मानिसले फिल्म मनपराए। हामी उनीहरूलाई धन्यवाद भन्न चाहन्छौं। तर यस्तो संख्या निकै कम छ। किनकी धेरै मानिसहरूलाई फिल्म नै मनपरेन। यो कुराको महशुस हामीले गरेका छौं,’ आमिरले भने, ‘दर्शकहरू ठूलो आशका साथ मेरो फिल्म हेर्न आएका थिए। उनीहरूलाई मैले मनोरञ्जन दिन नसकेकोमा माफी चाहन्छु।’

अमिताभ बच्चन, कटरीना कैफ र आमिरको फिल्म गत नोभेम्बर ८ मा रिलिज भएको थियो। यो फिल्मले सन् २०१८ मा रिलिजको पहिलो दिन सबैभन्दा बढी कमाई गर्ने फिल्मको रेकर्ड बनाएको थियो। फिल्मले पहिलो दिन ५२ करोडको कलेक्सन गरेको थियो। तर दोस्रो दिनपछि भने कमाईको अनुपात दिनानुदिन घट्दै गयो। फिल्म समिक्षक तरुण आदर्श अनुसार फिल्मको पहिलो हप्ताको कमाई १ सय ३४ करोड रुपैंयाँ छ। दोस्रो हप्ता यो संख्या बढेर १ सय ४९ करोड मात्र पुग्यो।

आमिरका अघिल्ला फिल्मको कलेक्सनको तथ्यांक हेर्ने हो भने सन् २०१७ मा रिलिज फिल्म ‘सीक्रेट सुपरस्टार’ले पहिलो दिन ४ दशमलब ८० करोड र शुक्रबारको कमाई ९ दशमलब ३० करोड थियो। यो फिल्ममा जायरा वसीम मुख्य भूमिकामा र आमिर सह–भूमिकामा थिए।

सन् २०१६ मा चार हजार पर्दामा रिलिज भएको फिल्म ‘दंगल’ले पहिलो दिन २९ करोडको व्यापार गरेको थियो। त्यस्तै सन् २०१४ को फिल्म ‘पीके’ले पहिलो दिन २६ करोड व्यापार गरेको थियो।

सन् २०१३ मा रिलिज फिल्म ‘धुम ३’ले पहिलो दिन ३६ करोडको व्यापार गरेको थियो। सन् २०१२ मा रिलिज फिल्म ‘तलाश’ले पहिलो दिन १३ करोड, सन् २००९ मा रिलिज फिल्म ‘थ्री इडियट्स’ले पहिलो दिन १३ करोडको व्यापार गरेको थियो।

प्रकाशित: १२ मंसिर २०७५ ००:३२ बुधबार

ठग्स_अफ_हिन्दुस्तान आमिर_खान फ्लप