काठमाडौं – आगामी माघ १८ गते रिलिज हुने फिल्म ‘रणवीर’को फस्टलुक सार्वजनिक भएको छ। नायक सुशील सिटौलालाई सोलो रुपमा प्रस्तुत गरिएको फस्टलुकमा सुशील ‘एक्सन’ हिरोको रुपमा देखिएका छन्।
‘एक्सन’ विधामा बनेको फिल्मका लागि अभिनेता सुशीलले १५ किलो तौल बढाएका थिए। सुशीलका अनुसार फिल्मका लागि उनले आफ्नो ७० केजीको तौललाई ८५ किलो बनाएका थिए। सुशीलले नौ महिना नियमित जिम गरेर तौल बढाएको बताए। फिल्मका निर्माता दीपेन्द्र रेग्मीले सुशिलको ‘क्यारेक्टर पोस्टर’का रुपमा फस्टलुक सार्वजनिक गरिएको बताए। फिल्ममा गोमा विष्ट थापाको पनि लगानी छ।
गोविन्द सिंह भण्डारीको निर्देशन रहेको फिल्ममा प्रशान्त ताम्राकार, शुभेच्छा खड्का, सुपुष्पा भट्ट, टीका पहारी, हरिहर शर्मा, भोलाराज सापकोटा, जीवन भट्टराई, नरेश पौडेल, रवि गिरी, जगदिश रिजालको अभिनय छ। शुभेच्छा र सुपुष्पाले यही फिल्मबाट अभिनय थालेका हुन्।
फिल्मको दुई गीतबाहेक बाँकी सबै छायांकन सकिएको छ। दुई गीतको आगामी मंसिर १५ गते छायांकन गरिने निर्माण पक्षले जनाएको छ।
प्रकाशित: १२ मंसिर २०७५ ००:२९ बुधबार