कला

लक्ष्मीसदनको नाटक उत्कृष्ट

भक्तपुर – नाटक दिवसको अवसर पारेर आयोजना गरेको नाटक प्रतियोगितामा लक्ष्मी सदन समूह पहिलो भएको छ। भक्तपुरको ब्याँसीस्थित एभरेस्ट स्कुलमा सम्पन्न प्रतियोगितामा लेखनाथ सदन दोस्रो, मोती सदन तेस्रो र भानु सदनले सान्त्वना पुरस्कार पाएका थिए।

नाटकको जुरीमा टेलिश्रृंखला ‘भद्रगोल’का निर्देशक तथा कलाकार दीपक आचार्य ‘काकु’, स्कुलकै अंग्रेजी शिक्षिका संगीता बनेपाली र नेपाली शिक्षक दीपककुमार नेपाल थिए। विद्यार्थीले नेपाली र अंग्रेजी भाषामा नाटक प्रदर्शन गरेका थिए।

स्कुलका प्रिन्सिपल भक्त राजभण्डारीले विगत सात वर्षदेखि वर्षैपिच्छे नाटक दिवस मनाइरहेको बताए। नाटक प्रशिक्षक एवं रंगकर्मी हेमन्त गौतमका अनुसार नाटकमा स्कुलका कक्षा चारदेखि नौसम्मका झण्डै पाँंच दर्जन विद्यार्थी सहभागी थिए।

प्रकाशित: ११ मंसिर २०७५ ०३:११ मंगलबार

नाटक_दिवस लक्ष्मी_सदन_समूह