कला

‘धर्म,अर्थ, काम जीवनका तीन उद्देश्य’

काठमाडौं – भारतीय लेखक गुरुचरण दासले मानव जीवन तीन उद्देश्यको वरिपरि केन्द्रित रहेको बताएका छन्। बुकवर्म फाउन्डेसनको आयोजना रहेको नेपाल लिटरेचर फेस्टिभल  अन्तर्गतको कर्टेन रेजर कार्यक्रममा शुक्रबार गैरीधारामा शनिबार आयोजित कार्यक्रममा बोल्दै भारतीय लेखक गुरुचरणदासले ऋषि मुनिहरूले सुखी सम्पन्न जीवनको अर्थ खोज्ने क्रममा तीन कुरालाई प्रस्ताव गरेको बताए।  

कार्यक्रममा आफ्नो पुस्तक ‘काम : द रिडल अफ डिजायर’को विषय पनि भारतखण्डमा प्रचलित यही तीन उद्देश्यमाथि केन्द्रित रहेको बताए। लेखक दासले भने, ‘आदिकालीन भारतसँग अर्थपूर्ण जीवनयापन गर्न सक्ने उपाय र उत्तर थियो। हाम्रा ऋषिमुनिहरूले तीन उद्देश्य प्रस्ताव गरेका थिए— धर्म, अर्थ र काम।  धर्म भनेको नैतिक स्वास्थ्य हो। अर्थ भनेको भौतिक सुखसुविधा र तेस्रो काम हो। यी तीन कुरालाई मैले मेरा किताबमा व्याख्या गर्ने कोशिस गरेको छु। ’  सबै मानिस अर्थपूर्ण एवम् सुखी जीवन बिताउन चाहने र त्यही विषयले  आफ्ना पुस्तकहरूमा चर्चा गरेको उनको भनाइ  थियो।
आफूलाई नेपालको ‘ज्वाइँ’को रुपमा परिचित गराएका दासले पहिलो किताब ‘इन्डिया अनबाउन्ड’मा भौतिक समृद्धिको विषय उठान गरेको उनले बताए । दोस्रो किताब ‘द डिफिकल्टी अफ बिइङ गुड’मा हाम्रो र देशको नैतिक जीवनको चर्चा गरेको उनले जानकारी दिए। साथै पछिल्लो किताब ‘काम : द रिडल अफ डिजायर’मा आफूले तृष्णाको चर्चा गरेको उनले अथ्र्याए। उनले भारतमा चर्को हिन्दुवादको नाराले कामको अर्थमा संकुचन आएको दाबी गर्दै यस्तो प्रवृतिले मानिसको सुखको खोजीमा थप व्यवधान निम्तने दाबी गरेका थिए।  

कार्यक्रमका विशेष अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री माननीय रविन्द्र अधिकारीले देशको सार्वङ्गिण विकासका लागि साहित्यको पनि ठूलो भूमिका हुने बताए।  ‘देशको समग्र समृद्धिका लागि आर्थिक विकास मात्र पर्याप्त हुँदैन। यसका लागि कला, साहित्य एवम् संस्कृतिको समृद्धि पनि आवश्यक हुने भएकाले नेपाल लिटरेचर फेस्टिभल जस्ता महोत्सव भइराख्नपर्छ,’ उनले भने।

कार्यक्रममा लेखक शिवानीसिंह थारुले आधुनिक नेपाली साहित्य २१औं शताब्दीसँगै अघि बढेको बताइन्। त्यसको एक सय वर्ष पूरा भएसँगै नेपाली साहित्यले नयाँ फड्को मारिसकेको उनको भनाइ थियो।  ‘ नेपाली साहित्यले पञ्चायत शासनबाट बच्दै आफूलाई अगाडि पनि बढायो। पछिल्लो समय नेपाली साहित्यले नयाँ रुपमा आफूलाई अघि बढाएको छ,’ उनले भनिन्। नेपाली साहित्य परम्परा र नेपाली साहित्यलाई विश्व साहित्यसँग जोड्ने समय पनि आइसकेको उनले बताइन् । यो पटकको लिटरेचर फेस्टिभललाई आइएमइ ग्रुपले प्रायोजन गरेको हो।  

कार्यक्रममा आइएमईका कार्यकारी निर्देशक स’मन पोखरेलले आइएमईलाई लिटरेचर फेस्टिभलमा प्रायोजनको अवसर दिएकोमा बुकवर्म फाउन्डेसनलाई धन्यवाद दिए।  आइएमईले सामाजिक उत्तरदायित्वका क्षेत्रमा पनि काम गरिरहेको र यस्ता महोत्सव आदिमा पनि सहकार्य गरिरहने उनले प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा गायक धर्मेन्द्र सेवानले ‘रेशम फिरिरी’लगायत पाँच ओटा गीत गाएका थिए।

प्रकाशित: ९ मंसिर २०७५ ०२:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App