कला

मिस वल्र्डमा अग्रता लिदैं नेपालकी श्रृंखला

काठमाडौं – यतिबेला चीनको सान्या सहरमा मिस वल्र्ड २०१८ का लागि १ सय २१ देशका सुन्दरी भिडन्तमा छन्। सुरुवातमै आफ्नो दाबेदारी बलियो देखाएकी २३ वर्षिय  मिस नेपाल श्रृंखला खतिवडा टप ३२ मा परेकी छिन्।

प्रतिस्पर्धा अन्तर्गत विभिन्न फरक इभेन्टमा भाग लिदै अघि बढेकी खतिवडा भोटिङमा भने सबैभन्दा अगाडि छिन्। मिस वल्र्ड आयोजकको वेब साइटका अनुसार हालसम्मको अत्यधिक भोट पाउने प्रतिस्पर्धीमा खतिवडा नै छिन्। उनले हालसम्म जम्मा भएको भोटिङमध्ये ३० प्रतिशत बढी भोट विश्वभरबाट पाइसकेकी छिन्। दोस्रोमा ९ प्रतिशत फ्रान्स, तेस्रोमा युगाण्डा ७ प्रतिशत, चौथोमा  रसिया ५ प्रतिशत र पाँचौं स्थानमा टर्की, तान्जानिया, बंगलादेश ४ प्रतिशत भोटका साथ अघि बढिरहेका छन्। हालसम्मको भोटका आधारमा धेरैले उनी टपटेनभित्र परिसकेको आंकलन गरेका छन्। यद्यपि आधिकारिक समाचार भने बाहिर आइसकेको छैन। भोटिङमा पहिलो भएमा शृंखलाले मल्टिमिडिया अवार्ड जित्नेछिन्।

गएराति भएको टप मोडेल प्रतिस्पर्धाको उपाधि भने फ्रान्सकी मिभा कुग्केले उचालेकी छिन्। सो प्रतिस्पर्धाको टप ३२ मा नेपाल पनि पर्न सफल रह्यो।

राजनीतिक माहोलको परिवारमा हुर्केबढेकी खतिवडाको पहिचान मिस वल्र्डमा त्यही अनुसार नै गरिएको छ। नेपालका प्रदेश नम्बर ३ को हेटौंडामा सन १९९५ नोभेम्बरमा जन्मेकी खतिवडाले विपन्न चेपाङ रहने गाउँलाई सम्पन्न र भोकमरीमुक्त बनाउने अभियानमा सहभागी छिन्। उनले मिस वल्र्डमा जानु अघि बनाएको चेपाङ गाउँ र त्यहाँका बालबालिका सहितको भिडियोले यतिबेला थप चर्चा कमाइरहेको छ। मंगलबारमात्रै उनले आफ्नो भिडियोका बारेमा फेसबुक पेजमा आफ्नो धारणा राखेकी छिन्। आधा वर्ष पनि नधान्ने सुख्खाखेतीका भरले उनीहरूको जीवन सहज नहुने उनले उल्लेख गरेकी छिन्। सबैको सहयोगबाट नै उनीहरूलाई अगाडि बढाउन सकिने भन्दै तत्कालका लागि जाडोबाट बच्न कम्बल तथा खाद्यान्नका लागि सहयोगी हातहरू आइरहेको उल्लेख गरेकी छिन्।

हालैमात्र तेस्रो प्रतिस्पर्धाका रुपमा हेड टु हेड च्यालेन्ज पनि सकिएको आयोजकले जनाएको छ। खतिवडाले सबै प्रतिस्पर्धीले त्यसमा आफ्नो तर्फबाट उत्कृष्ट क्षमता प्रदर्शन गरेको उल्लेख गरेकी छिन्। ट्यालेन्ट राउन्डमा भने उनले सांगीतिक कविता भन्ने सोच बनाएपनि प्रतिस्पर्धाको नियम अनुसार त्यो सम्भव नभएकाले बदल्नु परेको स्टाटसमार्फत जनाएकी छिन्। श्रृंखलाले मिस वल्र्डमा लगेको परिचय भिडियोमा नेपालको समग्र सुन्दरतासँगै आफ्नो परिचय प्रदर्शन गरेकी छिन्।

मिस वल्र्ड प्रतिस्पर्धाको सुरुवात नोभेम्बर ९ बाट सुरु भएको हो। अन्तिम घोषणा भने डिसेम्बर ८ मा हुने छ।

लामो समयदेखि नेपालले मिस वल्र्डमा सहभागिता जनाउँदै आएको छ। अहिलेसम्मको सहभागितामा इशानी श्रेष्ठ मात्र टपटेन भित्र पर्न सफल भएकी थिइन्। सन् २०१३ मा मिस नेपाल हुँदै मिस वल्र्डमा सहभागिता जनाएकी इशानीले त्यो ‘ब्युटी विथ पर्पोज’ जितेकी थिइन्।

प्रकाशित: ७ मंसिर २०७५ ०२:५३ शुक्रबार

मिस_वल्र्ड श्रृंखला_खतिवडा