कला

पुसमा साताैं साहित्य महाेत्सव

काठमाडौं – नेपाल लिटरेचर फेस्टिभलको नयाँ संस्करण पुसमा हुने भएको छ ।  सोमबार पत्रकार सम्मेलन गर्दै आयोजक बुकवर्मले फेस्टिभल पुसको ७ गतेदेखि १० गतेसम्म पोखराको फेवाताल किनारस्थित रत्न मन्दिर अगाडिको चौरमा हुने जानकारी गरायो । आयोजक बुकवर्म फाउन्डेसनका तर्फबाट फेस्टिभल निर्देशक अजित बरालले उमेरको हिसाबसँगै फेस्टिभलले आफ्नो उचाइ मात्र नभई विश्वास पनि बढाएको दाबी गरे । ‘नेपाली र अन्य भाषा र भूगोलका साहित्यलाई एउटै मञ्चमा ल्याएर मन्थन गर्ने, स्रष्टा र पाठकबीचको दूरी कम गर्ने र फरक विचारहरूलाई उस्तै सम्मानका साथ स्थान दिने उद्देश्य फेस्टिभलको छ,’राजधानीमा सोमबार पत्रकारमाझ बरालले भने,‘शक्ति र सत्ताका आडमा फैलाइएका भय, घृणा र असहिष्णुताले स्वतन्त्र र कल्पनाशील सिर्जना सम्भव नहुने र त्यस्तो अवस्थामा शब्दले जीवन पनि नपाउने हुँदा पनि यसखाले सबैको मञ्चको महत्व अझ बढेको छ।’

आइएमईका प्रबन्ध निर्देशक हेमराज ढकालले आफ्नो समूहले नयाँनयाँ सिर्जना गर्ने प्रयत्नमा सहयोग गर्दै आएको र सोही उद्देश्यबाट अभिप्रेरित साहित्य सम्मेलन भएकाले यसमा आफूहरूले सहकार्य गरेको बताए । ‘सम्मेलनले नेपाली साहित्यलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सघाउने अपेक्षा छ ।’ उनले भने।

आइएमई लिमिटेडका कार्यकारी प्रमुख सुमन पोखरेलले सामाजिक उत्तरदायित्वका कार्यक्रममा आफूहरूको सहभागिता अझ बढ्ने जनाए । साहित्यकार खगेन्द्र संग्रौलाले सम्मेलन लेखकको उत्सवका रूपमा रहेको बताए । ‘यस किसिमको सम्मेलनले सबैलाई विवेकवान बनाउन सघाउनेछ । सामाजिक सञ्जालले पुस्तक पढ्ने बानी कम गराइदिएको छ । यो प्रवृत्तिबाट जोगाउने माध्यम पुस्तक नै हो ’ संग्रौलाले भने।

फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारीले पोखराको पर्यटन क्षेत्रमा सहयोग गर्न सम्मेलन पोखरामा आयोजना गर्न लागिएको बताए । ‘पोखरालाई पर्यटनको हबका रूपमा विकास गर्न पनि सम्मेलनले सघाउनेछ । हामीहरू राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय क्षेत्रमा आयोजना हुने साहित्य सम्मेलनमा जोडिन चाहेका छौं । त्यो बाटोमा फेस्टिभलले पक्कै पु-याउनेछ ’ भारीले भने।

सम्मेलनका संयोजक रविन गिरिका अनुसार फेस्टिभलमा फोटो प्रदर्शनी, कला प्रदर्शनी, सांगीतिक कार्यक्रमसँग साहित्यसहित अन्य विविध विषयमा ४० सत्रमा छलफल हुनेछ।

आयोजकका अनुसार महोेत्सवमा बेलायती ग्राफिक नोभलिस्ट निकोला स्ट्रिटनको मास्टर वर्कसप तथा क्रिएटिङ हिरोइन्स प्रोजेक्टअन्तर्गतको प्रदर्शनी हुनेछ । अघिल्लो संस्करणदेखि फेस्टिभलको आरम्भको झलक देखाउन आयोजना हुँदै आएको ‘कर्टेन रेजर’ यसपटक भारतका लेखक गुरचरण दासको उपस्थितिमा हुनेछ । ‘इन्डिया अनबाउन्ड’, ‘द डिफिकल्टी अफ बिइङ गुड’, ‘इन्डिया ग्रोज एट नाइट’ जस्ता पुस्तकका लेखक दासले आफ्नो हालै प्रकाशित पुस्तक ‘काम : द रिडल अफ डिजाएर’माथि अन्तरसंवाद गर्नेछन्।

यसपटकको फेस्टिभलमा पाकिस्तानका लेखक मोहम्मद हनिफ, भारतका नमिता गोखले, हरिश नाम्बियर र प्रज्जवल पराजुली, बेलायतका डा. निकोला स्ट्रिटेन, क्यानाडाकी मञ्जुश्री थापाको उपस्थिति हुनेछ।

फेस्टिभलमा नेपाली साहित्यका विगतदेखि भविष्यसम्मका सम्भावना, चुनौती र अवसरका विषयमा पाठक र लेखकबीच घनिभूत अन्तरसंवाद हुने आयोजकको अपेक्षा छ।

प्रकाशित: ४ मंसिर २०७५ ०२:४४ मंगलबार

नेपाल_लिटरेचर_फेस्टिभल साहित्य_महाेत्सव