कला

सलमानलाई धम्की दिने पक्राउ

मुम्बई– बलिउड अभिनेता सलमान खानलाई मार्ने धम्की दिने एक युवकलाई मुम्बई प्रहरीले नियन्त्रणमा लिएको छ। मुम्बई प्रहरीको क्राइम ब्राञ्चको टिमले उत्तर प्रदेशको करेली भन्ने ठाउँबाट शेरा नामका युवकलाई आइतवार नियन्त्रणमा लिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ। यद्यपी यी युवक सलमानका बडिगार्ड शेरा होइनन्।

क्राइम ब्राञ्चले मोबाइल लोकेशन ट्रयाक गरेर अभियुक्तलाई गिरफ्तार गरेको हो। साथै उनलाई मुम्बई ल्याएर एफआईआर समेत दर्ता गरिसकिएको छ।

प्रहरीका अनुसार शेराले साथीको सहयोगमा सलमानको व्यक्तिगत नम्बर पत्ता लगाएर फोन गरेका थिए। फोनमा उनले गाली गर्दै ज्यान मार्ने धम्की दिएका थिए। घटनामा संलग्न अन्य ३ जनाको खोजी भइरहेको छ। 

सलमान अहिले फिल्म ‘भारत’को छायांकनमा व्यस्त छन्। फिल्मको शुटिंग पञ्जाबको लुधियानामा भइरहेको छ। 

प्रकाशित: २ मंसिर २०७५ १५:५४ आइतबार

बलिउड सलमान_खान