कला

एकैदिन हलमा तीन फिल्म

काठमाडौं – केही समय यता सातामा दुई फिल्म रिलिज भइरहँदा शुक्रबारबाट तीन फिल्म रिलिज हुँदैछन्। कलाकार पुकार भट्टराईको ‘गुनगुन’, सुरेश उप्रेतीको ‘दैलो’ र कुमार केसीको ‘अनुग्रह’ एकसाथ प्रदर्शन हुँदैछन्।

दुई दशकदेखि अभिनयमा सक्रिय कलाकार भट्टराईको निर्देशन रहेको ‘गुनगुन’ मा सञ्चिता लुइँटेल, रविन्द्र प्रताप सेन, सुवास मेचे, पुकार भट्टराईलगायतका कलाकारको अभिनय छ । एक विवाहित महिलाले श्रीमान र प्रेमीलाई प्रेम गर्दा आइपर्ने आरोहअवरोहको कथालाई प्रस्तुत गरिएको फिल्मको कथा पुकार आफैले लेखेका हुन्।

फिल्ममा नविन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाल, अनु भण्डारी, सुमेश श्रेष्ठ, राधा दाहाल, भिम मैनालीलगायतको पनि अभिनय छ । प्राथना फिल्म्सको प्रस्तुतिमा तयार भएको फिल्ममा हिमाल केसीको द्वन्द्व, अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायांकन छ।

सुरेशको लेखन, निर्माण र निर्देशन रहेको फिल्म ‘दैलो’मा दाइजो समस्या, आमाबाबु प्रति छोराछोरीले गर्ने व्यवहार र छोरा नै जन्माउनुपर्ने समाजको मान्यताविरुद्धको कथा देखाइएको छ । २०४७ सालदेखि अभिनयमा सक्रिय सुरेशले ‘दैलो’मार्फत नै व्यावसायिक फिल्मको निर्देशनमा ‘डेब्यु’ गरेका हुन्।

यशोदा उप्रेती र अर्जुन उप्रेतीको पनि लगानी रहेको फिल्ममा सुरेशसँगै दुर्गा साउत, विकाश चौलागाई, दीपक डोटेल, मुना प्रसाई, दिक्षा आचार्य, सुयोग उप्रेती, अनु ढुंगानालगायतको अभिनय छ । फिल्ममा विमलकुमार भट्टराईको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन र लक्षुप्रकाश मल्ल तथा निलम उप्रेतीको संगीत संयोजन छ।

कुमारको ‘अनुग्रह’ मा सुवास मेचे, रोहण सेन्चुरी, अर्ती गुप्ता, सञ्जय न्यौपाने, राज गिरी, क्रिस्टिना राई, दीपशिखा सिलवाललगायतको अभिनय छ । सन्तोष खवासको निर्माण रहेको फिल्ममा विक्रम डीसीको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन, शंकर थापाको संगीत तथा पदम तामाङको कोरियोग्राफी छ।

प्रकाशित: ३० कार्तिक २०७५ ०५:३० शुक्रबार

फिल्म