कला

एल्बमको सिक्वेल ,व्यर्थको रहर !

काठमाडौं – कुनै एक फिल्मले बक्स अफिसमा ‘हिट’ व्यापार गर्दा त्यही नामलाई लिएर सिक्वेल हुँदै प्रिक्वेल बनाउने चलन नयाँ होइन् । हलिउडदेखि चलिआएको यो चलन बलिउड हुँदै नेपालसम्मै चलिरहेको छ । तर बजारै नभएको मानिएको संगीतमा पनि यो देखासेखीले निरन्तरता पाएको छ।

रहरले संगीतमा पैसा खन्याउँदै आएका गायक तथा गीतकारले यसैगरी एल्बममा मात्र होइन गीतमै पनि एक दुई राख्दै आएका छन् । संगीत क्षेत्रमा लामो समयदेखि सक्रिय स्रष्टा हुन् या पछिल्लो पुस्ताका नै किन नहुन्, एल्बम वा म्युजिक भिडियोमा सिक्वेल र प्रिक्वेल बनाउने काममा सक्रिय छन्। 

फिल्म निर्देशक विकासराज आचार्य र गायक राजेशपायल राई पेशागत रुपमा फरक विधाको भए पनि उनीहरुको काम गर्ने तरिकामा भने समानता छ । उनीहरुबीचको समानता हो, फिल्म र एल्बमको सिक्वेल । फिल्म ‘नाइँ नभन्नू ल’को ब्रान्डलाई स्थापित गराएका निर्देशक आचार्यको पाँचौं संस्करण ‘नाइँ नभन्नू ल ५’ गत भदौमा प्रदर्शन भयो । यहि समयमा गायक राई आफ्नो ब्रान्ड ‘दर्शन नमस्ते’को चौथो भागलाई श्रोतामाझ ल्याउन मुम्बईमा गीतको रेकर्डिङ सकेर काठमाडौं फर्किएका थिए।

राजेशपायलले एल्बम ‘दर्शन नमस्ते’ मात्र होइन, ‘जदौ’को सिक्वेलका रुपमा ‘जदौ २’, ‘जदौ ३’, ‘मूच्र्छना’को दोस्रो भाग ‘मूच्र्छना २’ र ‘आसेवारो’को पनि सिक्वेल श्रोतामाझ आइसकेको छ । ‘एल्बमको सिक्वेल ल्याउनुलाई हेर्नेले फेसन भने पनि हाम्रा लागि यो फेसन होइन् । जुन ब्रान्ड बढी चल्छ । त्यही ब्रान्डलाई अझ प्रबद्र्धन गर्ने चलन जहिँकतै छ । दर्शन नमस्ते, जदौ, मुर्छना, आसेवारो पनि यसकै उदाहरण हो,’राजेशपायल भन्छन्,‘एल्बम प्रकाशकले एल्बमको नाम दर्शन नमस्ते ४ राखौं भनेपछि मैले नाइँ भन्न सकिनँ । किनकि राजेशपायललाई चिनाउन दर्शन नमस्तेले पनि ठूलो भूमिका खेलेको छ ।’ राजेशपायलका अनुसार ‘दर्शन नमस्ते ४’ आगामी वर्षमा श्रोतामाझ आउनेछ । राजेशले जति सिक्वेल ल्याए पनि पहिलो एल्बमको गीतलाई अरु कुनै भागका गीतले उछिन्न सकेका छैनन्।

सिक्वेल निकाल्नु भनेको श्रोता वा दर्शकलाई रिमाइन्ड गराउनु हो । नयाँ नाममा एल्बम निकाल्दा त्यसको बजारीकरण गर्न गाह्रो पर्छ । तर नाम चलेको एल्बमको सिक्वेल ल्यायो भने सजिलो हुन्छ।’

गीतकार डा. कृष्णहरि बरालसँग सहकार्य गर्दै श्रोतालाई ‘बिम्ब’ र ‘बिम्ब २’ एल्बम दिइसकेका संगीतकार गैरे सुरेश अहिले तेस्रो सिक्वेल ‘बिम्ब ३’को तयारी गरिरहेका छन् । अबको दुई वर्ष भित्र एल्बम बजारमा ल्याउने तयारीका साथ उनी गीत रेकर्ड गराइरहेका छन् । ‘बिम्ब मेरो पहिचानसँग जोडिएको छ । आफूसँग जोडिएको विषय रहेकाले बिम्ब नामलाई निरन्तरता दिएको हुँ,’संगीतकार गैरे भन्छन्,‘बिम्बको छुट्टै मानक छ । रेडियोमा श्रोताले फोन कलिङ गर्दा होस् या कार्यक्रम सञ्चालकले सांगीतिक कार्यक्रम चलाउँदा यो एल्बमको नाम लिन अझै पनि बिर्सदैनन् । बिम्ब आफैमा ब्रान्ड बनिसकेको छ ।’ एल्बम ‘बिम्ब’मा रहेको ‘किन हजुर नबोलेको’लगायतका गीत रुचाइएका गीतमा पर्छन्।

युकेमा बस्दै आएकी गीतकार निलम आङबुहाङ राई एल्बम ‘जुनी जुनी ३’को तयारीमा छिन् । यो एल्बमको पहिलो भाग ‘जुनी जुनी’बाट चर्चामा आएकी निलमले त्यसको दोस्रो भाग पनि बजारमा ल्याइसकेकी छन् । ‘जुनी जुनीलाई श्रोताहरुले धेरै मनपराउनु भयो । शुभचिन्तकहरुले अर्को एल्बम कहिले आउँछ भनेर सोध्न थालेपछि दोस्रो एल्बमको नाम पनि ‘जुनी जुनी २’ नै राखेको हुँ,’निलमले भनिन्,‘अब यसको तेस्रो सिक्वेल पनि आउने सम्भावना धेरै छ । धेरैले सिक्वेललाई फेसनका रुपमा भए पनि मलाई चिनाउने काम ‘जुनी जुनी’ ले नै गरेकाले यो नामलाई छोड्न सकिनँ ।’ निलमको पहिलो एल्बम ‘जुनी जुनी’मा भारतीय गायिका सञ्जिवनी र कुमार सानुको स्वर छ । यो एल्बमका शीर्ष गीतसहित ‘पानी मिठो’, ‘के सन्देश बोकी ल्यायौ ’लगायतका गीत हिट गीत भएका थिए ।  गायक दीप श्रेष्ठले पनि गीतकार योगेन्द्र मणि दाहाल र संगीतकार राजु सिंहसँग सहकार्य गर्दै ‘यात्रा’ र ‘यात्रा २’ एल्बम श्रोतामाझ ल्याइसकेका छन्।

एल्बम जस्तै म्युजिक भिडियोको सिक्वेल लहर पनि नेपालमै राम्रै फस्टाएको छ । एउटा गीतले चर्चा पाएपछि त्यसकै पछाडि २, ३ अंक थप्दै गीतको भिडियो निर्माण गर्ने चलन फिल्मकै शैलीमा बढ्दो छ।

गायक सरोज ओली गीत ‘माछीले खाने खोलीको लेऊ २’को तयारीमा छन् । गायिका मेलिना राईसँग स्वरमा सहकार्य गर्दै उनले ल्याएको गीतको पहिलो संस्करणलाई युट्युबमा झण्डै दुई करोड दर्शकले हेरिसकेका छन् । ‘म व्यवसायिक गायक पनि होइन् । तर पहिलो गीत नै चलेपछि किन नयाँ गीत बनाउने भनेर त्यसको सिक्वेल बनाउन लागेको हुँ,’सरोजले भने,‘पहिलो गीत चलेपछि दर्शकले यो गीतको गायक हो नि भनेर चिन्छन् । त्यसकारणले पनि  त्यो गीत छाडेर अर्को गीत गर्न ध्यान जाँदैन।’

सरोजको बुझाइमा गीतको भिडियोले पनि चर्चा पाएपछि त्यसको सिक्वेल बनाउनुपर्ने बाध्यता स्रष्टालाई छ । ‘दर्शकहरू डान्सिङ नम्बरका गीत रुचाउँछन् । त्यसकारणले पनि नयाँ गीत रचना गर्नुभन्दा त्यही नाममा नयाँ शब्द राखेर गीत बनाउन सजिलो हुन्छ,’सरोजको दाबी छ,‘फिल्ममा छक्का पन्जा एउटा ब्रान्ड बने जस्तै दर्शकले रुचाएका गीत पनि ब्रान्ड बन्दा रहेछन् ।’ सरोजले नै गाएको ‘तिमीलाई देखेपछि आइलभ यु’, ‘जताततै पिरतीको’ गीत पनि युट्युबमा रुचाइएका गीतमा पर्छन् । उनले ‘तिमीलाई देखेपछि’को दोस्रो सिक्वेल पनि बजारमा ल्याइसकेका छन् भने तेस्रो सिक्वेलको तयारीमा छन्।

अमेरिकामा बस्दै आएकी गीतकार अम्बिका गुरुङको शब्द रहेको गीत ‘आदत’को नाममा दुई भिडियो सार्वजनिक भइसकेको छ । भिडियो ‘आदत’ निर्देशक अर्जुन अधिकारीले र ‘आदत २’ को निर्देशन सान थापाले गरेका हुन् । अघिल्लो भिडियोमा पल शाह र सन्ध्या केसीले मोडलिङ गरेका छन् भने ‘आदत २’ मा निराजन प्रधान, पल शाह, पुष्प खड्का र दीपिका प्रसाईको अभिनय छ । ‘गीतकार र गायकको आग्रहमा आदतको दोस्रो भिडियो बनाइएको हो,’निर्देशक थापाले भने,‘यसपटक सन्ध्याले व्यस्तताका कारण भिडियोमा समय दिन नसकेपछि निराजन, पुष्प र दीपिकालाई राखेर भिडियो बनाइएको हो।’

एल्बम उत्पादक कम्पनी भाइब्स क्रिएसनका प्रबन्ध निर्देशक पर्शुराम रिजाल श्रोतालाई ‘रिमाइन्ड’ गर्न गायकगायिकाले एल्बमलाई सिक्वेलका रुपमा ल्याउने गरेको दाबी गर्छन् । ‘सिक्वेल निकाल्नु भनेको श्रोता वा दर्शकलाई रिमाइन्ड गराउनकै लागि हो,’उनी भन्छन्,‘किनभने नयाँ नाममा एल्बम निकाल्दा त्यसको बजारीकरण गर्न गाह्रो पर्छ । तर नाम चलेको एल्बमको सिक्वेल ल्यायो भने हामीलाई पनि सजिलो हुन्छ।’

प्रकाशित: २८ कार्तिक २०७५ ००:५३ बुधबार

एल्बम सिक्वेल संगीत