कला

मंसिरबाट फ्लोरमा ‘दाल भात तरकारी’

काठमाडौं – फिल्म ‘दाल भात तरकारी’को मुहुर्त गरिएको छ । राजधानीको कमलादीस्थित गणेश मन्दिरमा मंगलबार पूजा गर्दै फिल्मका मुख्य कलाकार नायक पुष्प खड्का र नायिका आँचल शर्माले मुहुर्त संवाद बोलेका थिए।

मह सञ्चारको प्रस्तुतिमा किरण केसीले निर्माण गर्न लागेको फिल्मलाई किरणका छोरा सुदनले निर्देशन गर्दैछन् । निर्देशक सुदनका अनुसार फिल्मले दाल भात तरकारी खानकै लागि मानिसले गर्ने संघर्षलाई हाँस्यरसमा प्रस्तुत गर्नेछ।

मंसिर १ गतेबाट छायांकनमा जाने फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, बसुन्धरा भुषाल, सन्तोष पन्त, शिवहरि पौडेल, निरुता सिंह, किरण केसी, राजाराम पौडेल, प्रियंका कार्की, वर्षा राउत, पुष्प खड्का, आँचल शर्मा, शिशिर वाङ्देन लगायतका कलाकारको मुख्य भूमिका रहनेछ।

मुहुर्त कार्यक्रममा फिल्मका लेखक हरिवंश आचार्यले सामाजिक कथावस्तुलाई हाँस्यरसमा प्रस्तुत गर्न लागेको बताए । फिल्म वि.सं २०७६ साल वैशाख १३ गते रिलिज हुनेछ । फिल्ममा शम्भुजित बास्कोटाको संगीत रहनेछ।

प्रकाशित: २८ कार्तिक २०७५ ००:४७ बुधबार

दाल_भात_तरकारी फिल्म मुहुर्त