कला

‘चंगा चेट’लाई दुई करोड !

काठमाडौं – तिहार अघि प्रदर्शन भएको फिल्म ‘चंगा चेट’ले दुई हप्तामा दुई करोड हाराहारीको कारोबार गरेको छ । निर्माता माधव वाग्लले फिल्मले तिहारको विदाको फाइदा उठाउँदै चित्त बुझ्दो व्यापार गरेको बताएका छन्।

‘दोस्रो हप्तामा भारतीय फिल्मले व्यापारमा निकै असर गर्ला भन्ने सोचेका थियौं तर त्यसले हाम्रो व्यापारमा खासै असर गरेन । अब हामीलाई लगानी उठाउन डेढ करोड बराबर ग्रस हुन जरुरी छ जुन सजिलै पुग्ने हाम्रो अनुमान छ,’ वाग्लले भने । उनले लक्ष्मीपूजाको भोलिपल्ट रिलिज भएको बलिउड फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ले अपेक्षित व्यापार नगरेपछि यसको फाइदा ‘चंगा चेट’लाई भएको बताए । ‘बीचमा हिन्दी र नेपाली कुनै पनि ठूला फिल्म प्रदर्शनमा आउँदै छैनन्,’वाग्लेले भने, ‘ त्यसैले पनि लगानी उठ्ने कुरामा हामी ढुक्क छौं।’

यही फिल्मसँग रिलिज भएको रेखा थापा अभिनित तथा निर्देशित ‘मालिका’ले पनि अपेक्षित व्यापार नगरेपछि सिंगल थिएटरमा पनि फिल्मलाई फाइदा भएको धेरैको बुझाइ छ।

तीनजना युवा पैसाको पछि लाग्ने कथामा बनेको फिल्मलाई दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् । फिल्ममा आयुष्मान देशराज जोशी, रविन्द्र झा, सन्दिप क्षेत्री, अर्पण थापा, सुरक्षा पन्त आदि कलाकारले अभिनय गरेका छन् । कमेडी विधामा बनेको फिल्मलाई समीक्षकबाट भने औसत प्रतिक्रिया मिलेको थियो । मनोरञ्जक नै भए पनि फिल्मले बासी कथा पस्केको उनीहरूको टिप्पणी थियो।

प्रकाशित: २७ कार्तिक २०७५ ०१:०६ मंगलबार

चंगा_चेट दुई_करोड दुई_हप्ता