कला

‘राम्रो कथालाई राम्रो निर्देशक’

काठमाडौं – धादिङमा जन्मिएका हरि सिलवाल सानैदेखि चलचित्रमा काम गर्न चाहन्थे ।  त्यसैले धादिङबाट प्रवेशिका परिक्षा उत्तिर्ण गरे लगत्तै सिलवाल चलचित्रमा भविष्य खोज्न राजधानी काठमाण्डौ प्रवेश गरे र संघर्ष गर्न थाले।

आफन्त, चिनेजानेको कोही पनि चलचित्र क्षेत्रमा नभएको एउटा पहाडी जिल्लाको मध्यम परिवारको १६ वर्षीय ठिटोलाई काठमाडाैं जस्तो सहरमा आफ्नो सपना पछ्याउन त्यति सजिलो थिएन । संघर्ष गर्दा गर्दै सिलवाल मुकुन्दकिशोर भट्टराईसँग अभिनय तथा नृत्य निर्देशकद्धय नविनचन्द्र राई र छिरिङ लामासँग नृत्य प्रशिक्षण लिन पुगे । यही क्रममा भेटिएका  निर्देशक सुभाष गजुरेलले  ‘माया बैगुनी’ मा सह–निर्देशकको जिम्मेवारी दिएपछि बल्ल फिल्ममा काम गर्ने उनको सपनाले मूर्तता लिएको थियो । पछि उनले  निर्देशक गजुरेलकै अभिभावकत्वमा ‘बसाईँ’ र सांग्रिला च्यानलबाट प्रसारित कमेडी शृंखला रमाइलो सांग्रिलामा काम गर्ने अवसर पाए।

‘फिल्ममा काम गर्ने रहर थियो तर कुन विधामा काम गर्ने ज्ञान थिएन । सुभाष सरसँग काम गरेपछि अरु विधाभन्दा निर्देशन मेरो विधा रहेछ भन्ने ज्ञान भयो,’ नागरिकसँगको एक भेटमा सिलवालले भने।

यसपछि उनले क्रमैसँग नेपाल टेलिभिजनबाट प्रसारित ‘थोरै भए पुगी सरी’ मा सह–निर्देशकभएर काम गरेका सिलवालले ‘लडाईं’, ‘इन्द्रावती’, ‘आवाज’, ‘जिन्दगी’, ‘नेपालीवीर’, ‘आहा छिं हमार लेल’, ‘कुलंगार’, ‘बोक्सी’, ‘जनता जिन्दाबाद’, ‘गोर्खा पल्टन’, ‘किन लाग्छ माया’, ‘लम्फू’ आदि धेरै चलचित्रहरूमा मुख्य सहायक निर्देशक भएर काम गरे।

मुख्य सहायक निर्देशकका अलावा कुसल सम्पादकसमेत रहेका सिलवालले एक सयभन्दा बढी टेलिभिजन विज्ञापन, करिब ५ सय म्युजिक भिडियो एवम् नेपाल टेलिभिजनबाट प्रसारित ‘हस्पिटल २४’, ‘जय होस ७५’, ‘सीता २०’, ‘एक्सक्युज मी ३५’, च्यानल नेपालबाट प्रसारित ‘हाफ् ब्वाइल’ २१ भागसम्म सम्पादन कार्य गरेका छन् भने दिव्यदर्शन टेलिभिजन, धादिङबाट प्रसारित ‘ल्याङल्याङ’ (२६ भाग), ‘दसैँ’  (४५ मिनेट) र ‘तिहार’ (५५ मिनेट) टेलिसिरियलमा छायाँकन, सम्पादन तथा निर्देशन गरी सकेका छन् । त्यसैगरि मदन पुरस्कार प्राप्त महाकाव्य‘मानव’ मा आधारित बरिष्ठ निर्देशक बद्रि अधिकारीद्धारा निर्देशित हाल जनता टेलिभिजनबाट प्रसारण हुनलागेको टेलिसिरियल ‘मानव’ को ५२ भागसम्म सम्पादनको जिम्मेवारी पाएका छन्। 

लामो समय सिनेमाको यात्रामा व्यस्त भएपनि सोचे जस्तो सफल हुन नसेकोको उनको स्विकारोक्ति छ । ‘आज म जहाँ छु यो  साथीभाइको सहयोग र दर्शकहरूको माया हो । व्यस्त हुनु पनि एक किसिमले सफल हुनु नै हो,’ उनले भने। 

चलचित्रमा एउटा स्थापित सम्पादक र मुख्य सहायक भएर काम गरीसके पश्चात् उनको विचारमा नेपाली चलचित्रले एक कदम फड्को मार्नुपर्छ, हाल निर्मित चलचित्रभन्दा स्तरिय चलचित्र बन्नुपर्छ र नेपाली चलचित्रले विदेशी चलचित्रसँग प्रतिस्पर्धा गर्न सक्नुपर्छ । त्यसैले आफ्नो लामो कार्य अनुभवबाट चाँडै लन्डनको एनआरएनसँग मिलेर नेपाली चलचित्र बनाउने सोच बनाएका छन्।

उनले बनाउने चलचित्र बनिरहेका चलचित्र जस्तै स्तरीय, मनोरञ्जनात्मक र पूर्ण व्यवसायिक रहने बताएका छन् । लगनशील भएर काम गर्ने हो, सफलता विस्तारै हात लाग्नुका साथै राम्रो कथा र निर्देशक नभएसम्म चलचित्र राम्रो नबन्ने कुरामा उनी सहमत छन्।

प्रकाशित: २७ कार्तिक २०७५ ००:५४ मंगलबार

हरि_सिलवाल चलचित्र निर्देशक