कला

ल्यान्डस्केपमा सुन्दर खोकना

ललितपुरको खोकनामा ल्यान्डस्केप बनाउदै कलाकार। तस्विर: चाँदनी हमाल

काठमाडौं - पूर्वतिर काठमाडौं खाल्डो, दक्षिणमा फूल्चोकीको गुराँस फूल्ने चुचुरो, पश्चिमको हरियो हात्तीवन र चम्पादेवी डाँडा अनि उत्तरमा चोभारमाथि गणेश हिमाल झुल्कदै गरेको दृश्य। ललितपुरको खोकना बस्ती यिनै रमणीयस्थल बीचको फाँटमा बसेको छ।

अनुसन्धानकर्मी भरत गिरी र स्थानीय ज्ञानरत्न महर्जन नेवारी भाषामा ‘खो’ को अर्थ तल्लो देश अनि ‘कना’ को अर्थ महिलाको रुवाइ भनेर अर्थ लगाउँछन् । उतिबेला त्यहाँका महिला आफ्ना पतिसँगै सती जानेबेला पीडाले चिच्याउने गरेकाले त्यो क्षेत्रको नाम खोकना रहन गएको दाबी महर्जनको छ।

कलाकारले राजधानीका खेतीयोग्य जमिन खण्डीकरण र कंक्रिटकरण हुँदै त्यो सुन्दरता जोगाउन स्थानीय निकायलाई यस्ता स्थलको संरक्षण गर्न झक्झकाउने उद्देश्य बोकेका छन्।

गिरीका अनुसार प्राचिन ग्रीकको इतिहास मातृसत्तात्मक थियो । एथेन्स देवीका नाममा त्यहाँको सहरको नाम रहेको थियो । त्यो इतिहास जीवित रुपमा खोकनामा रहेको उनले बताए । खोकना रुद्रायणी तथा शिकाली देवीले संरक्षण गरेको स्थल हो । उपत्यकाको स्थापना गर्दा नै यसको चारैतिर अष्ट मातृकाको स्थापना गरिएको संस्कृतिविदहरूको बुझाइ छ । तोरीको तेल र ताइचिन चिउराका लागि प्रख्यात खोकनामा महर्जन समुदायको बाहुल्यता छ । प्राचीन संस्कृतिले धनी खोकनामा गत शनिबार भने कलाकारको ठूलै जमघट थियो । बिहानै एकहुल कलाकार क्यानभास बोकेर यहाँको सुन्दरता चित्रमा उतार्न व्यस्त थिए।

केही कलाकार रुद्रायणी मन्दिर छेउछाउका दृष्यमा रंग र कुची चलाइरहँदा केहीले भने फाँटमै पुगेर क्यानभास ठड्याए । सुनका बाला झै लहलहाउदै गरेका धानका बाला बटुल्न आतुर किसान, शिकाली मन्दिर घुम्न आएका घुमन्तेसँगै बिहानी तथा मध्यदिनको घामछायाँ कलाकारका चित्रमा अटाए। प्रायले जलरंगको कुचीबाट ल्यान्डस्केप कोरे भने केहीले ब्ल्याक एन्ड ह्वाइट तथा पेन्सिल रंगबाट समेत ल्यान्डस्केप सजाए । कलाकारलाई उपलब्ध सामाग्रीबाहेक अन्य रंगसमेत छनौट गर्ने विकल्प भएपनि जलरंग बद्लिदो मौसमको चित्र कोर्न सहज भएकाले अधिकांशले त्यही माध्यम प्रयोग गरे।

शिकाली मन्दिर पुगेका कलाकारको टोलीले मन्दिरलाई पृष्ठभूमिमा राखेर वरिपरिको दृश्य खिचेको सुन्दर देखियो । भ्यानगग लगायतका कलाकारले युरोपमा ल्याएको कलाको पुनर्जागरणको एउटा कालखण्ड यस्तै गरी प्रकृतिमा चित्र कोरेर नै सुरु भएको थियो । कार्यक्रमका अभियन्ता राकेशचन्द्र श्रेष्ठले घर तथा कोठाभित्र बसेर चित्र कोर्दा त्यसमा प्रकाशको संयोजन फितलो रहने भएकाले बाहिरी वातावरणमा बसेर चित्र कोर्दा वास्तविक प्रकृतिसँगै प्रकाश र छायाँको संयोजन चित्रमा सुन्दर ढंगले बन्ने बताए । ‘अझ प्रकृतिमा हुने सजीव वस्तुले चित्रमा जीवन भर्ने भएकाले कलाकारको क्यानभास जीवन्त बन्छ । यही अवधारणासँगै विश्वमा प्रकृतिमा बसेर चित्र बनाउने क्रम सुरु भएको हो,’उनले भने,‘चित्रकारिताले मात्र जीवन नधानेपछि अधिकांश कलाकार अन्य पेसामा संलग्न हुन्छन् । त्यसकारण चित्रकारिताका लागि समय जुराउन शनिबारीय स्थलगत चित्रकला कार्यशालाको अभियान थालेका हौं ।’ कलाकार केशवराज खनालले शनिबार एकदिन कलाकारको जमघटमा कला, संस्कृति, सम्पदाको ऐतिहासिक थलोमा पुगेर चित्र बनाउँदाको आनन्द र सिकाइ नै बेग्लै हुने बताए । ‘पहाड, धानको खेत र हरियाली भविष्यमा पक्कै रहन्न,’ उनले भने, ‘तर यहाँ बनेको हाम्रो चित्रमा भने पक्कै रहन्छ ।’ कलाकारले राजधानीका खेतीयोग्य जमिन खण्डीकरण र कंक्रिटकरण हुँदै त्यो सुन्दरता जोगाउन स्थानीय निकायलाई यस्ता स्थलको संरक्षण गर्न झक्झकाउने उद्देश्य बोकेका छन्।

भक्तपुरबाट आएका सूर्यराम सुवाल, रमेश प्रधान, राधेश्याम कर्माचार्य र पूनयराम मातालाई आफ्नो क्षेत्रभन्दा खोकना निकै फरक लाग्यो । ‘नेवार समुदाय नै भएपनि यहाँको रहनसहन र खेतीको तरिका र वातावरण फरक लाग्यो,’ प्रधानले भने, ‘अझ कलाकारका लागि चाहिने जनसम्पर्क पनि यसरी हिड्दा बढ्ने रहेछ ।’ उनीहरू चारैजनाले शिकाली मन्दिरलाई केन्द्रमा राखेर फरक–फरक दृष्य क्यानभासमा कैद गरेका थिए।

कलाकारहरू खेतमै आएर यहाँको चित्र बनाएको हेर्दै किसानहरू समेत मख्ख परेका थिए । मेहनतले सिञ्चेको धानखेत र हरियाली दृष्यावलोकनको चित्र हेर्दा अनौठो लागेको किसान दिलबहादुर महर्जनले सुनाए । आठौं हप्तामा चलिरहेको कलाकारको कार्यशालाको फेसबुक पेजसमेत बनेको छ । जहाँ भोटिङमार्फत कलाकारले कार्यशाला सञ्चालन गर्छन्।

अर्का अभियन्ता दिवेश प्रधानले बहुमतका आधारमा तय भएको स्थलमा शनिबार बिहानै पुगेर कलाकारहरू चित्र बनाउने बताए । यसपटकको कार्यशालामा बीस कलाकार खोकना पुगेका थिए । यसरी बनाएको कला भविष्यमा प्रदर्शनीमा राख्ने योजना रहेको छ । बसन्तपुरमा गरेको पहिलो कार्यशालामा दुईवटा चित्र ठाउँको ठाउँ नै बिकेपछि त्यही खर्चले अन्य कार्यशालाका लागि सामग्री जुटाउने गरेका छन् । समूहमा रहेकाले त्यही खर्चबाट किनेको चित्र बनाउने कागज तथा रंगमा थोरै रकम बढाएर बजार मूल्यभन्दा सहज मूल्यमा कार्यशालाका कलाकारलाई उपलब्ध गराउँछन् । यसले गर्दा अर्को कार्यशालाको लागि थप रकमको जोहो हुने प्रधानले बताए।

प्रकाशित: २१ कार्तिक २०७५ ०६:०३ बुधबार

खोकना कलाकार