कला

‘वीरविक्रमसँग सम्बन्ध छैन’

काठमाडौं – फिल्म ‘वीरविक्रम’ निर्माण र प्रदर्शनको दुई वर्ष पछि नयाँ फिल्म ‘वीर विक्रम २’को घोषणा गरिएको छ। फिल्म निर्माण समूहले अघिल्लो संस्करणको फिल्मसँग नाम मिले पनि नयाँ फिल्म सिक्वेल नरहेको दाबी गरेको छ।

फिल्मका निर्माता तथा निर्देशक मिलन चाम्सले नयाँ फिल्म कथा अघिल्लो फिल्मभन्दा फरक रहेको बताए । ‘अघिल्लो ‘वीरविक्रम’सँग अहिलेको ‘वीरविक्रम २’को सम्बन्ध छैन । यो अघिल्लो संस्करणको सिक्वेल पनि होइन,’व्यान्डबाजासहित कलाकार सार्वजनिक गरिएको कार्यक्रममा उनले भने,‘हामी यसपटक निकै चिसो स्थानमा फिल्म छायांकन गर्दैछौं। त्यसकारण पनि कलाकारलाई ‘वार्मअप’ गराउन बाजागाजासहित उनीहरूलाई सार्वजनिक गरेका हौं।’

मिलनले अघिल्लो फिल्ममा दयाहाङ राई र अनुपविक्रम शाहीको मित्रतालाई मुख्य कथाको रुपमा प्रस्तुत गरेका थिए ।  उनले नयाँ फिल्ममा पनि दुई चरित्रबीचको मित्रता कथाको मियाको रुपमा  देखिने खुलाए । पछिल्लो समयमा फिल्म दृश्यभन्दा पनि कथाका आधारमा चल्ने भएकाले आफू पनि त्यही नयाँ कथामा फिल्म बनाउन लागेको बताए। ‘नयाँ फिल्ममा अघिल्ला फिल्मका प्रमुख कलाकारलाई किन लिइएन भन्ने प्रश्न पनि आउँछ। म नयाँ अनुहारसँग काम गर्न रुचाउँछु । त्यसकारण यसपटक मैले आकाश श्रेष्ठ र नाजिर हुसेनको पुस्तालाई लिएँ,’मिलनले भने।

कलाकार आकाशले आफूप्रति विश्वास गरेर निर्माता र निर्देशकले फिल्ममा लिएकाले त्यो विश्वासलाई नतोड्ने प्रतिबद्धता व्यक्त गरे । ‘यो टिमसँग जोडिन पाउँदा खुशी लागेको छ। मेरा अघिल्ला फिल्ममा भन्दा यो फिल्ममा केही भिन्नता दर्शकले पाउनु हुनेछ ।’आकाशले भने।

नायिका वर्षा शिवाकोटीले सफल फिल्मको सिक्वेलमा जोडिन पाउँदा खुशी लागेको बताइन्। ‘सफल फिल्मसँग जोडिने अवसर कमै कलाकारले पाउँछन् । म यसपटक जोडिएँ ’उनले भनिन्।

आगामी कात्तिक २६ गतेबाट छायांकन सुरु हुने फिल्ममा आकाश श्रेष्ठ, वर्षा शिवाकोटी, नाजिर हुसेन, बुद्धि तामाङ, विनिशा भण्डारी, शिशिर राणा र क्षितिज सुवेदीको अभिनय रहनेछ । फिल्ममा बाल कलाकारका रुपमा मनिष लिम्बूले डेब्यु गर्दैछन्।

चाम्स इन्टरटेनमेन्ट र लन्डन सिने आइ प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्ममा अर्पण सापकोटा सहनिर्माता छन्। प्रदिप भारद्वाजको कथा र पटकथा रहेको फिल्ममा रञ्जित गजमेर, राजनराज शिवाकोटी, ताराप्रकाश लिम्बूको संगीत, सुदिप बरालको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व र वनिष शाहको सम्पादन छ । फिल्म २०७६ को नयाँ वर्षमा रिलिज हुनेछ।

प्रकाशित: १८ कार्तिक २०७५ ०३:४८ आइतबार

वीरविक्रम फिल्म