कला

धादिङमा रेखा थापाको चलचित्र ‘मालिका’को विशेष प्रदर्शनी

धादिङ– नायिका तथा निर्देशक रेखा थापाको चलचित्र मालिकाको धादिङमा विशेष प्रदर्शनी गरिएको छ। छोरीको निम्ति स्वर्णिम नेपाल महाअभियान सहयोगार्थ चलचित्रको विशेष प्रदर्शनी गरिएको हो। महिला हिंसा र बालविवाह मुक्त नेपाल निर्माणको अभियानमा केन्द्रित चलचित्र आगामी कात्तिक १६ गते देशैभर रिलिज हुने थापाले बताइन्। ‘महिला र बालबालिका माथि हुने हिंसा चलचित्रको मुख्य विषयबस्तु बनेको छ’, थापाले भनिन्, ‘देशभर लक्ष्मीपूजाको दिन चलचित्र प्रदर्शन हुने भएपनि धादिङमा भने तोकिएको समय अगावै प्रदर्शनी गरेका हौँ।’ 

चलचित्रमा बाल विवाह, महिला हिंसा, छुवाछुत लगायतका सामाजिक विषयहरुलाई जोडदार रुपमा प्रस्तुत गरिएको छ। मालिकाको ट्रेलर रिलिज भएर युट्युवमा अपलोड भएको केही घण्टामा नैं लाखौं दर्शकको मनमा मालिका बस्न सफल भएको थियो। रेखा फिल्मस्को ब्यानरमा बनेको चलचित्रलाई रेखा थापाकै माता सरस्वती थापाले निर्माण गरेकी हुन। चलचित्रमा शिवम अधिकारीको लेखन रहेको छ भने संवाद र कथा भने कार्यकारी निर्माता नरबहादुर कार्कीले गरेका छन्। यस चलचित्रमा रामशरण उप्रेतीको छायाङकन र सुरेश अधिकारीको संगीत रहेको छ। 

चलचित्र ‘मालिका’को अधिकांश छायांकन जाजरकोटमा गरिएको हो। काठमाडौंबाट छायांकन सुरु भएको मालिकाको छायांकन बाँकेको कोहलपुर हुँदै जाजरकोटका विभिन्न ठाउँमा छायांकन भएको हो। जाजरकोटको सुटिङका क्रममा केही दृश्य निकै मार्मिक देखिएका छन्। सुटिङका क्रममा देखिएका त्यस्ता मार्मिक सामाजिक थयार्थले गम्भीर बनाएको दर्शकहरुले बताएका छन्। निर्देशक तथा नायिक रेखा थापा सँगसँगै चलचित्र हेर्न पाउदा दर्शकहरु रमाएका थिए। 

चलचित्र मालिकाका निर्देशक रेखा थापा धादिङ आएर संगै दर्शकहरुसंग सो महाअभियानमा सहभागी भएकी थिइन्। चलचित्र हेरेका दर्शकहरुले छोरीमा विश्वास र सोच जागेको विश्वास समेत लिएका छन्। चलचित्र हेरिसकेपछि निलकण्ठ नगरपालिकाका उपमेयर मनराज भण्डारीले यस्ता चलचित्रहरुले समाजमा घट्ने घटनाहरु वलत्कार वालविवाह जस्ता अपराधहरु न्युनिकरणको निम्ति ठुलो सहयोग हुने बताए। यसैगरी विद्यार्थीहरुले पनि आफुमा आत्मवल थपिएको र आफ्नो लागि आफै लड्न सक्ने क्षमता रहेको बताएका थिए।

चलचित्रमा जाजरकोटको कालेगाउँकी १४ वर्षीय कमला वली मुख्य भूमिकामा छिन्। उनी ‘ननयाक्टर’ हुन्। निर्माताद्वय रेखा र नरबहादुर कार्कीसमेत मुख्य भूमिकामै छन्। 

प्रकाशित: १४ कार्तिक २०७५ १०:५५ बुधबार

रेखा_थापा मालिका नेपाली_सिनेमा