कला

चीनमा ‘बाहुबली’लाई माथ

मुम्बई –  अघिल्लो हप्ता चीनमा रिलिज भएको बलिउड फिल्म ‘हिचकी’ले आश्चर्यजनक कमाई गरेको छ। १२ अक्टोबरदेखि चीनमा रिलिज भएको फिल्मले भारतमा सर्वाधिक कमाई गर्ने किर्तिमान बनाएको ‘बाहुबली’लाई पनि उछिनेको  छ।

व्यापार विज्ञका अनुसार फिल्मले प्रदर्शनको दसौं दिन पार गर्दासम्म ८३ करोड भारतीय रुपैंया कमाई गरेको छ। ‘हिचकी’ले पहिलो हप्तामा ५४ करोड हाराहारी व्यापार गरेको विज्ञको अनुमान छ। फिल्म पहिलो हप्ता ३८ हजार पर्दामा रिलिज भएको थियो जुन दोस्रो हप्तामा घटेर १३ हजार आसपास पुगेको थियो। लागेका हलमा दर्शकको राम्रै उपस्थिति रहेकाले फिल्मले चीनबाट मात्र सय करोडको आँकडा पार गर्ने अनुमान गरिएको छ।

व्यापार विज्ञका अनुसार ‘हिचकी’को यो कमाई ‘बाहुबली’को दोस्रो भागको भन्दा बढी हो। ‘बाहुबली : कन्क्लुजन’ले चीनमा ८० करोड व्यापार गरेको थियो। भारत र विदेशमा गरी करिब १७ सय करोड कमाइ गरेको फिल्म चीनमा भने सोचे अनुसार चलेको थिएन। १० दिनमा ७५ करोड कमाइ गरेको फिल्म दोस्रो हप्तामा थप ५ करोड कमाउँदै हलबाट बिस्थापित भएको थियो।

भारतले चीनमा वर्षका ५ वटा फिल्म प्रदर्शनको कोटा पाउँदै आएको छ। यही कोटा अन्तर्गत चीनमा प्रदर्शन भएका ‘दंगल’, ‘पिके’, ‘सेक्रेट सुपरस्टार’ ‘बजरंगी भाईजान’ र ‘हिन्दी मिडियम’ले चीनमा राम्रो कमाई गरेका थिए।

सिद्धार्थ मल्होत्रा निर्देशित फिल्ममा अभिनेत्री रानी मुखर्चीले ‘टुरेट सिंड्रोम’को सिकार भएकी शिक्षकको भूमिका निर्वाह गरेकी छिन्। २३ मार्चमा रिलिज भएको फिल्मले भारतीय बक्स अफिसमा ४६ करोड बराबरको कारोबर गरेको थियो। २० करोड छेउछाउको बजेटमा बनेको फिल्म हिट मानिएको थियो। चीनमा ‘दंगल’, ‘हिचकी’, ‘सेक्रेट सुपरस्टार’ जस्ता फिल्म चल्नमा भावनात्मक कथा मुख्य कारण भएको विश्लेषण गरिएको छ। पारिवारिक तानाबानाका साथमा भावनात्मक कथा भएका फिल्म चीनका दर्शकले रुचाउने फिल्म पण्डितहरूको अनुमान छ।

प्रकाशित: ८ कार्तिक २०७५ ०५:५२ बिहीबार

बाहुबली फिल्म