कला

‘जय भोले’मा डन खगेन्द्र

काठमाडौं – अभिनेता खगेन्द्र लामिछाने हरेक फिल्ममा फरक–फरक शैलीमा फिल्ममा प्रस्तुत हुन्छन् । फिल्म ‘टकलजंग भर्सेस टुल्के’देखि पछिल्लो रिलिज फिल्म ‘धनपति’सम्म आइपुग्दा प्रत्येक फिल्ममा दर्शकले भिन्न खगेन्द्र देखेका छन् । फूलपाती अर्थात् मंगलबारबाट रिलिज हुन लागेको फिल्म ‘जय भोले’मा दर्शकले खगेन्द्रलाई ‘डन’ चरित्रमा देख्नेछन्।

अशोक शर्मा निर्देशित फिल्ममा खगेन्द्र झापाको एउटा सानो सहरको ‘जय डन’ चरित्रमा छन् । स्याङ्जामा जन्मिएका खगेन्द्रले यो फिल्ममा ठेट पूर्वेली लवज बोलेका छन् । ‘मलाई जय डनको भूमिका निर्वाह गर्न मन लागेको थिएन । सुनको सिक्री लगाएर हुलदंगा गर्दै हिड्ने केटाको चरित्रमा देखिँदा समाजको नजरमा आफू पनि नराम्रो परिएला भन्ने डर थियो,’खगेन्द्रले भने,‘त्यसैले मलाई यो भूमिका नसुहाउने भन्दै अन्य कलाकारलाई नै अभिनय गराउन निर्माता तथा निर्देशक अशोक शर्मालाई भनें । तर उहाँले एउटा कलाकार भएपछि विभिन्न भूमिका निर्वाह गर्नुपर्छ भनेर अन्य कलाकारहरूको उदाहरण दिएपछि म यो भूमिका गर्न तयार भएँ।’

खगेन्द्रलाई ठेट पूर्वेली लवज निकाल्न पनि सजिलो थिएन । उनले छायाँकनको क्रममा ‘ठ्याक्कै झापाकै लजव आयो’ भनेर स्थानीयहरूले भनेपछि आफू उत्साहित भएको खुलाए । फिल्ममा आफू हास्यसँगै गम्भीर भूमिकामा पनि देखिएको बताए । ‘एउटा कलाकार भएपछि जस्तो पनि भूमिका निर्वाह गर्नुपर्छ । यो फिल्ममा हास्य प्रधान भूमिकालाई मैले चुनौतीको रूपमा स्वीकारेको छु,’उनले भने, ‘हास्यप्रधान भए पनि मेरो भूमिका गहन, गम्भीर र जिम्मेवारपूर्ण छ।’

निर्देशक शर्माका अनुसार साथी–साथीबीचको सम्बन्ध र एक युवतीका कारण त्यो सम्बन्धमा आउने उतारचढावलाई फिल्ममा प्रस्तुत गरिएको छ । ‘फिल्मको ट्रेलरमा हामीले कथाको मुख्य अंश देखाएका छैनाैं । त्यसकारण पनि यो फिल्म विशेष छ,’निर्देशक अशोकले भने,‘दर्शकका लागि यो सरप्राइज नै हो ।’ फिल्ममा खगेन्द्रको साथीको भूमिकामा सौगात मल्ल, प्रेमिकाको भूमिकामा स्वस्तिमा खड्का र मितको भूमिकामा बुद्धि तामाङ छन्।

प्रकाशित: २९ आश्विन २०७५ २३:३१ सोमबार

जय_भोले फिल्म खगेन्द्र_लामिछाने