कला

धरानमा नेपथ्यको कन्सर्ट हुने

फाइल तस्बिर

धरान - करिब डेढ दशकको अन्तरालमा धरानमा नेपालकाे चर्चित ब्याण्ड नेपथ्यको लाइभ कन्सर्ट हुने भएको छ। धरान १८, बुद्धचोक स्थित मंगोलियन क्याफे (एमसि) र बीपी प्रतिष्ठान स्थित परिक्रमा विद्यार्थी परिवारको संयोजनमा आगामी मंसिर ७ गते धरानमा नेपथ्यको कन्सर्ट हुन लागेको हो। दुवै संस्थाले शुक्रबार संयुक्त पत्रकार सम्मेलन गर्दै गीत,संगीतको उर्बर भुमि धरानमा नेपथ्यको कार्यक्रम लामो समयदेखि हुन नसकेकोले यसपाली ल्याउन पहल गरिएको जनाएको छ।

‘धरानमा नेपथ्यको कार्यक्रम नभएको १५ बर्ष भइसकेछ, संगीतको उर्बर भुमिमा नेपथ्यलाई उभ्याउनुपर्छ भनेर हामीले धेरै मेहनत गरेका छौं, नेपथ्य धरानमा आउनु हाम्रो लागि गर्वको कुरा हो,’एमसिका सञ्चालक पुर्ण राईले भने। मंसिर ७ गते यो ब्याण्डको लाइभ कन्सर्ट धरान १६ स्थित रंगशालामा हुने आयोजक द्धयको भनाई छ। कन्सर्टको लागि ५ हजार टिकट मात्र बिक्री गरिनेछ। अन्यलाई एक हजार शुल्क लाग्ने कन्सर्टमा विद्यार्थीहरुलाई २५ प्रतिशत छुट दिइएको राईले बताए। उनका अनुसार यो कन्सर्ट प्रतिष्ठान स्थित विद्यार्थीहरुको रिसर्च सेन्टर स्थापना गर्न र धरान रनको नेवा एजुकेशन फण्डलाई आर्थिक सहयोग जुटाउने उद्देश्यले आयोजना हुन लागेको हो।

 

प्रकाशित: २६ आश्विन २०७५ १३:३४ शुक्रबार

नेपथ्य