कला

१८ लाखमा खिचियो ‘बुलबुल’को गीत

काठमाडौं – स्वस्तिमा खड्काले टेम्पो चालकको भूमिका निर्वाह गरेको फिल्म ‘बुलबुल’ले एक गीतको सुटिङका लागि मात्र १८ लाख खर्च गरेकोे छ। भक्तपुरको हेलमेट डाँडामा पच्चीस वटा टेम्पो र १०० जनाको कोरससहित ४ दिन लगाएर खिचिएको गीत उक्त रकममा सकिएको निर्माण टिमले दाबी गरेको छ।

गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन। उनले भिन्न कन्सेप्टमा खिचिएको गीत आफूले पछिल्लो समय खिचेका गीतहरुमा उल्लेख्य रहेको बताए।  ‘खुद्रा खाद्री’ बोलको गीतमा निश्चल बस्नेत र रजिना रिमालको स्वर रहेको छ भने गीतको रचना र संगीत कोशिस क्षेत्रीले गरेका हुन्।

चलचित्रका निर्माता अविरल थापाले छायाँकनमा जम्मा १८ लाख खर्च भएको पुष्टि गरे। ‘फिल्मको कथा टेम्पोको सेरोफेरोमा छ । गीतमा पनि हामीले प्रशस्त टेम्पो प्रयोग गरेका छौं । यही कारण गीतको बजेट सोचेभन्दा बढी भयो,’थापाले भने, ‘ तर गीत बनेर आउँदा उत्कृष्ट बनेर आउने कुरामा हामी विश्वस्त छौं।’

गीतमा स्वस्तिमा खड्का र अभिनेता मुकुन भुसालको नृत्य गरेका छन् । निर्माता थापाले गीत कात्तिक १५ बाट सार्वजनिक हुने पनि जनाएका छन्।

चलचित्रक निर्देशक विनोद पौडेलले ‘बुलबुल’ले स्वस्तिमा खडकाको अभिनयले धेरैलाई चकित तुल्याउने दाबी गर्दै आएका छन् भने  स्वस्तिमा स्वयंले पनि यो फिल्म आफनो करियरकै कोशेढुंगा हुन अभिव्यक्ति दिँदै अएकी छिन्।  

फिल्ममा स्वस्तिमा खडकाका अलावा मुकुन भुसाल ,बुद्धि तामाङ ,दिपक क्षेत्री ,लक्ष्मी बर्देवा, जोयश पाण्डे, उज्जल अधिकारी ,सृष्टि भट्टराई आदिको अभिनय रहेको छ । फिल्म फागुन १५ मा रिलिज हुँदैछ।

प्रकाशित: २२ आश्विन २०७५ ०४:२१ सोमबार

स्वस्तिमा_खड्का बुलबुल गीत