कला

स्वयम्भूमा नेपथ्यकाे प्रस्तुति

काठमाडौं - नेपालकाे चर्चीत ब्याणड नेपथ्यले शनिवार स्वयम्भूकाे भुइँखेलमा अाफ्नाे प्रस्तुती दिएकाे छ। लोकरक ब्याण्ड नेपथ्यले सम्पदा संरक्षणका लागि अाफ्नाे प्रस्तुती दिएकाे बताएकाे छ। स्थापनाको रजत महोत्सव मनाउँदै गरेको यो समूहले शनिवारकाे अाफ्नाे प्रस्तुती अघिल्ला कन्सर्टहरु भन्दा भिन्न तरिकाले सुरु गरेकाे थियाे। ब्याण्डका मुख्य गायक अमृत गुरुङको आवाजबाट नभइ स्वयम्भूमा उपस्थित दर्शकहरुको आवाजबाट कन्सर्ट सुरु भएको थियो। मञ्चमा चढेका नेपथ्यका वाद्यवादकहरुले ‘यो जिन्दगानी’ गीतको धुन बजाएका थिए भने सहभागिहरुले गित गाएका थिए।

दर्शकले गीत गाइरहँदा केहि बेर पछि मात्रै अमृत देखा परेका थिए। कार्यक्रम प्रस्तुत गर्दागर्दै अमृतले बारम्बार स्वयम्भूमा बितेका नेपथ्यका संघर्षमय दिनहरुको सम्झना गरे। ‘हामीले यहाँ कोठा भाडा लिएर एउटा एल्बमै तयार पारेका थियौं,’ अमृतले बिगत सम्झे,‘अबेर रातसम्म स्वयम्भूको डाँडामा बसेर अनेक योजनाहरु बुन्थ्यौं।’ त्यो बेला आफूहरुमा परेको प्रभाव र अहिले काठमाडौंका सम्पदाहरुमा बढ्दो अतिक्रमणका बीच यो कार्यक्रमलाई सम्पदा संरक्षणका निम्ति समर्पित गरेको कारण पनि उनले खुलाए। नेपाली छाेरीचेलीकाे सुरक्षामा गम्भीर प्रश्न उठ्न थालेकाे भन्दै उनले भने  ‘आउनुस् स्वयम्भूको यो आँगनबाट उनीहरुको निम्ति मध्यरातमा पनि निर्धक्क हिँड्नसक्ने मुलुक बनाएरै छाड्ने प्रण गरौं। यो बुद्धले संसारभरि शान्ति छरेको मुलुक हो।’

‘स्वयम्भू क्लब’ को निमन्त्रणामा अायाेजना गरिएकाे कार्यक्रममा नेपथ्यले ‘भेँडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो’,‘मै मरि जाऊँला’ ‘आँगनै भरि हिउँ नै झरे', ‘शिरफूल शिरैमा',‘लामपाते सुरती’, ‘चरि मर्यो शिशैको गोलीले’, ‘जोमसोमे बजारमा’, ‘जोगले हुन्छ भेट’ , ‘हो रामा रामा’ लगायत थुप्रै नयाँ तथा पुराना गीतहरु प्रस्तुत गरिएकाे थियाे।

नेपथ्य