कला

संस्कृति जोगाउन लाखे नाच प्रतिष्पर्धा

नारायणगढमा आयोजना गरिएको ‘लाखे नाच प्रतियोगिता’मा लाखे नाच्दै सहभागी। तस्विरः सविता/नागरिक

चितवन - नारायणगढ बजार यतिबेला लाखेमय बनेको छ । बजार लाखेमय बन्ने कारण हो, छैठौं राष्ट्रिय लाखे नाच प्रतियोगिता। प्रतियोगितका कारण फरक खालका मुकुट र पोशाक लगाएका लाखेहरू नारायणगढमा जम्मा भएका छन् । प्रतियोगिता सुरु हुने दिन विभिन्न जिल्लाबाट आएका सहभागीले बुधबार बिहान अनेक भेषभुषामा सजिएर झाँकीसहित नारायणगढ बजार परिक्रमा गरे।

लोक संस्कृति तथा राष्ट्रिय लाखे नाच प्रतिष्ठान नेपालले आयोजना गरेको प्रतियोगितामा २५ जिल्लाका ४६ टोलीको सहभागिता छ । प्रतिष्ठानका अध्यक्ष निर्जनलाल श्रेष्ठले दाह्रा निस्केको डर लाग्दो मुखौटा र अनौठो भेषभुषा लगाएर ढोलक र झ्यालीको तालमा लाखे नाच्ने बताए । उनी नेवार समुदायमा प्रचलित लाखे नाचको विशेष महत्व रहेको बताउँछन्।

परम्परादेखी चलिआएको लोकसंस्कृति झल्कने जात्रा लोप हुने अवस्थामा पुगेकाले प्रतियोगिताको आयोजना गर्न थालिएको प्रतिष्ठानका निवर्तमान अध्यक्ष राजेन्द्रकुमार पिया बताउँछन् । उनका अनुसार लोप हुने क्रममै रहेको लाखे नाचको संरक्षण र प्रवद्र्धन गर्न प्रतियोगिता सुरु गरिएको हो।

नारायणगढ बसपार्क टोल सुधार तथा बस व्यवस्थापन समिति, नारायणगढले २०६४ सालमा पहिलो पटक यो प्रतियोगिता शुरु गरेको थियो । जुन प्रतियोगितामा १५ जिल्लाका टोली सहभागी थिए । समितिले चार पटकसम्म प्रतियोगिताको आयोजना गरेको थियो । ‘टोल सुधार समितिले प्रतियोगिता आयोजना गर्दा जनसहभागिता जुटाउन र कार्यक्रम सञ्चालन गर्न आर्थिक भार भएको महशुस भयो’ पियाले भने, ‘त्यसैले लाखे संस्कृति संरक्षण गर्न प्रतिष्ठान नै स्थापना गरेका हौं।’

प्रतिष्ठानले युवापुस्तालाई समेत संस्कृति संरक्षणमा सहभागी गराएको उनी बताउँछन् । बाजा बजाउने, नृत्य सिकाउने प्रशिक्षण प्रतिष्ठानबाट सञ्चालन गर्ने लक्ष्य प्रतिष्ठानको छ । प्रतियोगिता दुई वर्षको अन्तरमा आयोजना हुँदै आइरहेको छ । यस वर्ष प्रतियोगितामा विजयी समूहले ७५ हजार रुपैयाँ, दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ पाउने छन्।

चारवटा समूहलाई दिईने सान्त्वना पुरस्कार १० हजार रुपैयाँ छ । यस वर्षबाट तीन वटा सान्त्वना पुरस्कार थप गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । यसपटकको प्रतियोगितामा इलाम, संखुवासभा, पाल्पा जाजरकोट लगायतका पूर्वी तथा पश्चिमी जिल्लाका समूहको समेत सहभागिता रहनेछ।

प्रकाशित: ४ आश्विन २०७५ ०६:३१ बिहीबार

लाखे_नाच संस्कृति